गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द गर्यो भन्ने कुरा अस्वीकार्य - पर्यटनमन्त्री [भिडियो]
गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने-नदिने बारेमा निर्णय लिन नसक्ने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ९ बुधबार
939
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने-नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताए ।
उनले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु ? भन्दै प्रश्न गरे । उनले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनि प्रदूषण र त्यहाँको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नियमनलाई अझ प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बताए। निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरू बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार गलत भएको बताए । सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहनुभएको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताए ।
मन्त्री पाण्डेले भने, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको कुरा आयो । त्यो गलत भएको छ । त्यो बढाइचढाइपूर्ण कुरा हो । अब तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने त कहाँ कहाँ नउडाउने ? रारामाथि नउडाउने की ? बर्दियामाथि नउडाउने की ? चितवनमाथि नउडाउने की, यहाँ शिवपुरीमाथि नउडाउने ? गोकर्णमाथि नउडाउने की ? हाम्रो सगरमाथा क्षेत्रमा दुनियाँ किन आएको छ भन्दा हिमाल हेर्नका लागि आउँछन् । त्यहाँका जनावरमा देखिएको परिवर्तन, स्कुलका विद्यार्थीलाई भएको असर, त्यहाँको ध्वनि प्रदूषण त्यहाँको ग्लोबल वार्मिङलाई हेलिकप्टर चलेको कारणले गर्ने असर । बरु के चाहिँ गर्न सकियो भने नियमनको कुरामा अझ हामीले ध्यान दिने कुरा ठिक छ । तर निकुञ्ज बसेर, मध्यवर्ती बसेर, गाउँपालिका बसेर हेलिकप्टर चल्दैन यो आकाशमा भन्ने कुरा सरासर नीतिगत हिसाबले पनि पर्यटकीय र पर्वतारोहणलाई हामीले प्रवर्द्धन गर्ने हिसाबले पनि त्यो गलत छ । नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार पनि त्यो गलत छ । त्यसैले गृह मन्त्रालयले पनि आफ्नो ढङ्गले पहल गरिरहेको छ । सिडिओले पनि सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । आवश्यकता परे हाम्रो मन्त्रालयले पनि सबै सरोकारवालालाई बोलाएर निर्णयमा पुग्नुपर्ने जरुरी हुन्छ । त्यसका लागि बिना अध्ययन अनुसन्धान लहडका भरमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका मान्छेहरू बसेर हेलिकप्टर बन्द भयो भन्ने कुरा सरासर गलत भएको छ ।’
उनले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई ध्वस्त पार्ने काम भएको बताए । संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई अघि बढाएर नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिनुपर्ने बताए ।