arrow

अर्थ मन्त्रालयको पत्रकार सम्मेलन

सरकारले अर्थतन्त्र डुब्न दिँदैन - मन्त्री पौडेल [भिडियो]

बैङ्क र अर्थतन्त्र दुवै डुबे भन्ने कुरा गलत हुन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
press-meet-artha.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैङ्क दुवै डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलेले पछिल्लो समय कतिपय मानिसहरूले बैङ्क र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताए । उनले अर्थतन्त्रको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरूले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैङ्कलाई डुब्न नदिने प्रतिबद्धता जनाए । 

उनले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरूले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताए । अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरूको पछि कोही पनि लाग्न नहुने बताए । उनले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवर्द्धन नगर्न आग्रह गरे । उनले बैङ्कहरूमा तरलता थुप्रिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताए । 

उनले सरकारले बैङ्कमा सङ्कलन भएको निक्षेप उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताए । उनले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको बताए । उनले पूर्वाधार निर्माणमा समय,लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको बताए । उनले कुनै पनि निर्माण व्यवसायीले विधि पुर्‍याएर दाबी गरेको भुक्तानी नरोकिएको बताए । 

उनले भने,‘ ‘अर्थ मन्त्रालयले तथ्याङ्कमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौँ, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरूलाई सकारात्मक बनाउने प्रयास गरेका छौँ, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौँ । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौँ । बैङ्कहरूको तरलता र ल्यान्डिङको विषय छ । विगतको तुलनामा ल्यान्डिङ बढ्दै गएको छ । सरकारले बैङ्कमा सङ्कलन भएको निक्षेप कर्जा हुन सकोस् भन्नेमा छ । उक्त लगानी उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास हो । क्रमशः सुधार हुँदै पनि आएको छ । बैङ्कको लगानीमा सुधार भएको छ । अहिले बैङ्क डुब्यो आदि इत्यादि नकारात्मक कुरा आएका छन् । बैङ्क र अर्थतन्त्र डुब्यो भन्ने विषयमा हामी प्रभावित हुनुहुँदैन । अहिले बैङ्क र अर्थतन्त्र दुवै डुबेका छैनन् । सरकारले अर्थतन्त्र पनि डुब्न दिँदैन बैङ्क पनि डुब्न दिँदैन अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ क्रमशः यसले अर्थतन्त्र डुब्यो भनेर यस्ता खालका हावादारी टिप्पणीहरू केही अर्थ छैन भन्ने मलाई लाग्छ राख्न चाहन्छु बैङ्कहरू पनि डुबेका छैन । केही संस्थाहरूमा समस्या हुन सक्छन् । समस्या भए ठाउँमा समाधान खोज्नुपर्छ । बैङ्क र अर्थतन्त्र दुवै डुबे भन्ने कुरा गलत हुन । पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी छ। हामीले खास गरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने दुई तिनटा विषयहरू छन् । एउटा के छ भन्दाखेरि दोस्रो के छ भनेदेखि समय र लागतको विषयमा ध्यान दिँदै अर्को गुणस्तर सुनिश्चित हुन आवश्यक छ । सरकार बन्दै गर्दा ठूलो साइजको भुक्तानी दायित्व थियो । भुक्तानी गर्न सक्ने सबै विकल्पहरूमा छलफल गरेर राज्य तिर्नुपर्छ । सरकारले पछिल्लो ६ महिनामा राज्यले गर्नु आम रूपमा आधारभूत रूपमा भुक्तानीको काम सकिएको छ र आज कसैले कुनै पनि निर्माण व्यवसायीले कुनै पनि निर्माण व्यवसायीले विधि पुर्‍याएर दाबी गरेको भुक्तानी रोकिएको छैन । निर्माण व्यवसायीहरूले भुक्तानीको लागि आन्दोलन गर्नुपर्‍यो भन्ने कुरा सत्य होइन ।’

उनले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताए । उनले वर्तमान सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गरे । उनले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताए । अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेश मुलुकको समृद्धि र व्यवसायीक वातावरण निर्माणको लागि भएको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ