कांग्रेसको उद्योग तथा व्यापार विभागका सदस्यलाई प्रमाणपत्र, पहिलो बैठकले गर्यो यस्तो निर्णय
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा मनोनित सदस्यहरुले प्रमाणपत्र पाएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ प्रमुख रहेको कांग्रेस उद्योग तथा व्यापार विभागको सदस्यमा गत पुस १६ गते विभिन्न १० व्यापारसँग सम्बन्धित व्यक्तिहरु मनोनित गरेका थिए ।
मनोनित सदस्यहरुलाई एक सातापछि मंगलबारकै दिन पुस २३ गते देउवाले प्रमाणपत्र दिएका हुन् । प्रमाणपत्र पाएसँगै आधिकारिक भएको विभागको पहिलो बैठक पनि मंगलबारै बसेको छ ।
पहिलो बैठकले दुई ओटा निर्णय गरेको छ । सोअनुसार विभागको पहिलो बैठक भएकाले पहिले परिचयात्मक कार्यक्रम गरिएको र यो विभागका गतिविधि सामाजिक सञ्जालमा जोडिएर सहज पहुँच बनाउने निर्णय भएको मनोनित सदस्य संजिब घिमिरेले बताए । उनले विभागको छुट्टै ह्वाट्सएप समूह बनाउने निर्णय भएको जानकारी दिए ।
प्रमाणपत्र ग्रहण गर्दै व्यवसायी संजिब घिमिरे ।
त्यस्तै बैठकले सात ओटै प्रदेशका उद्योगी व्यवसायीहरुबीच अन्तरक्रियात्मक कार्यक्रम तय गरी प्रदेश स्तरीय बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
मनोनित १० सदस्यहरुमा झापाका संजिब घिमिरेसँगै कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मानबहादुर भण्डारी, काठाडौँका ध्रुवबहादुर खड्का, काठमाडौँकै राजीव श्रेष्ठ, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकका सिताराम परियार, सोलुखुम्बूका शम्भुहरि बाँस्तोला, लमजुङकी जुनु गुरुङ तथा रौतहटका इञ्जिनियर विजयकुमार सिंह रहेका छन् ।
पछिल्लो समय कांग्रेसले विभिन्न विभागमा धमाधम सदस्यहरु मनोनित गर्दै आएको छ ।