माओवादीले एक महिना तराई-मधेस जागरण अभियान चलाउने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
529
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई-मधेस जागरण अभियान चलाउने भएको छ । आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई-मधेस जागरण अभियान चलाउने जानकारी गराएका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राख्नुभएको जानकारी दिए । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राख्नुभएको बताए । केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र वृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि बताए ।
उनले भने, ‘पार्टी एकता र वृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषाधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पु¥याउन पहल गर्ने ।’
बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए । खबरदारी सभा देशव्यापी रूपमा प्रभावकारी रूपमा चलेको जानकारी प्रदेश अध्यक्षहरूले बैठकमा दिएका छन् ।