काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ ।
मंगलबार तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ ।
कुल बजार पुँजीकरण रु ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार कायम भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ३२ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ७५ र वित्त समूह एक दशमलव ६२ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ७६, होटल तथा पर्यटन शून्य दशमलव ९४, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव २८, लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै रु २० करोड सात लाख ४२ हजार छ सय ५२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १७ लाख ७३ हजार आठ सय १० कित्ता शेयर किनबेच भएको छ ।