आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्छ - नेता सिटौला [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
682
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे ।
उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे । उनले आफूले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस÷अपजस लिनुपर्ने बताए । उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका सङ्घर्षहरू जनतामाझ पुर्याउनुपर्ने बताए । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले भने, ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान । कांग्रेस पार्टीका साथीहरूले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको सङ्घर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न । किनभने देशको राजनीतिक फाउन्डेसन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुराहरू भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न । तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ । कानून बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली कांग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।’