arrow

घरजग्गा समस्या समाधानका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन, चाँडै कार्यान्वयन हुन्छ- उपप्रधानमन्त्री सिंह[भिडियो]

निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफैँ सम्पत्ति हुनेगरीकन अघि बढ्ने कन्सेप्ट अघि बढाउनसके अर्थतन्त्रमा ठूलो योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
prakashman-09-05.jpg

काठमाडौँ । जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्याहरुको समाधानका लागि गठित कार्यदलले शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रतिवेदन बुझाएको हो । जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझावहरू तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन पेश गर्न शहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन–२०८१ बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गाको किनबेचमा ठूलो उत्साह नरहेको बेलामा बनेको प्रतिवेदनले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । 

उनले प्रतिवेदनलाई शहरी विकास मन्त्रालयले चाँडै कार्यान्वयनमा लैजाने र यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे। शहरमा भाडामा बस्ने परिवारको सङ्ख्या बढी रहेको भन्दै निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफ्नै सम्पत्ति हुने गरी अघि बढ्ने योजना सफल बनाउनसके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए । 

उनले भने, ‘घरजग्गाको किनबेचमा पनि त्यत्ति ठूलो उत्साह छैन भनेर आइरहेको छ । तर अब हामीले जुन अध्ययन प्रतिवेदन दिनुभएको छ, यसलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै गयो भने नेपालको इकोनोमीमा ठूलो योगदान हाउजिङ क्षेत्रबाट पुग्नेछ । यसमा सरकारी क्षेत्र, निजी क्षेत्र पनि समावेश छ । सबैको आइडिया लिएर कन्प्रिहेन्सिभ प्रतिवेदन दिनुभएको छ । यसलाई चाँडै कार्यान्वयनमा लैजान्छौँ । शहरमा रेन्टमा बस्नेको सङ्ख्या अलि धेरै छ । रेन्टमा किन गर्ने, निम्न र मध्यम वर्गलाई हाउजिङबाटै आफैँ सम्पत्ति हुनेगरीकन अघि बढ्ने कन्सेप्ट अघि बढाउनसके इकोनोमीमा ठूलो योगदान हुनेछ । शहरी विकास मन्त्रालयबाट चाँडै एक्सनमा जानेछौँ ।’

ज्ञापन पत्र बुझाउँदै नेपाल जग्गा तथा आवास विकास सङ्घका निवर्तमान अध्यक्ष भेषराज लोहनीले प्रतिवेदन सबैको लागि बनेको र प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजान सके नेपालको घरजग्गाको क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले ल्यान्ड पुलिङ लगायतका धेरै विषयहरू प्रतिवेदनले समाधान गर्ने बताए। काठमाडौँ उपत्यकामा बनाउन लागिएका नयाँ ४ शहरमा निजी क्षेत्रलाई ढोका खोल्न सक्ने स्थिति निर्माण गर्नुपर्ने बताए । 

उनले भने, ‘यो कमन दस्ताबेज बनेको छ । यसलाई अध्ययन गरेर कार्यान्वयनमा लैजान सकियो भने नेपालको घरजग्गाको सेक्टरमा देखिएका धेरै समस्या समाधान हुन्छन् । ल्यान्ड पुलिङ लगायतका धेरै विषयहरू यसले समाधान गर्दछ । काठमाडौँ उपत्यकाका नयाँ ४ शहरमा निजी क्षेत्रलाई ढोका खोल्न सक्ने स्थिति हुन्छ ।’

प्रतिवेदन बुझाउँदै शहरी विकास मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक दिलीप भण्डारीले मुख्य शहरी क्षेत्रमा ४० प्रतिशत भन्दा बढी परिबार भाडामा बसेको अवस्थामा सङ्घीय सरकारले मात्रै जिम्मा लिएर आवास व्यवस्थापन गर्न सक्ने अवस्था नदेखिएको बताए । उनले अब स्थानीय तह र निजी क्षेत्रलाई पनि अधिकार र जिम्मेवारी नदिए समस्या कम गर्न नसकिने बताए । 

उनले भने, ‘मुख्य शहरी क्षेत्रमा ४० प्रतिशत भन्दा बढी परिबार भाडामा बसेको अवस्थामा सङ्घीय सरकारले मात्रै जिम्मा लिएर आवास व्यवस्थापन गर्न सक्ने अवस्था नदेखिएको कारण अहिले हामीले अब हामीले स्थानीय तह र निजी क्षेत्रलाई पनि अधिकार र जिम्मेवारी नदिने हो भने यो समस्या कम गर्न सकिँदैन भन्ने हो । हाम्रो प्रतिवेदन अधिकारहरू सङ्घ मात्रै भन्दा स्थानीय तह र निजी क्षेत्रलाई पनि सहभागी गर्नुपर्छ भन्ने छ । हामीले दिएका सुझावहरू एक पटक स्टेक होल्डरसँग छलफलमा ल्याएर चाँडो भन्दा चाँडो कानूनी रूप दिन सके यो क्षेत्रलाई अझ बढी विकास गरेर लैजान सकिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ