arrow

बैङ्कहरूलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौती [भिडियो]

ऋण असुलीमा पनि ठूलो चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
bankers-2081.jpg

काठमाडौँ । पछिल्लो समय बैङ्कहरूमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैङ्कहरूलाई प्रमुख चुनौती बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौती देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैङ्कहरूबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ । बैङ्कहरूले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैङ्कहरूको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैङ्कहरूको एनपीए पछिल्लो समय अधिकांश बैङ्कहरूको ४ प्रतिशत माथि पुगेको छ । बैङ्कहरूमा एनपीए वृद्धि हुँदै जानु बैङ्कहरूको लागि ठूलो चुनौती हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने,ऋण असुलीमा समस्या हुनसक्छ ।

अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैङ्किङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैङ्कहरूले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्यून हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैङ्कहरूको निक्षेप बढ्दा कर्जाको माग न्यून छ । बैङ्कहरूमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।

बैङ्कहरूको निष्क्रिय कर्जा उच्च रूपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको बैंकर्सहरुको भनाई छ । अर्थतन्त्रमा छाएको सङ्कुचनको असर बैङ्कहरूको रिकभरीमा पर्न सक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । आर्थिक २०७९-८० को पहिलो त्रैमासमा बैङ्कहरूको औसत खराब कर्जा १. ६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैङ्कहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।

७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरे पनि बैङ्कहरूमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांक अनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैङ्कहरूमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रूपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटे पनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैङ्कहरूमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैङ्कहरूलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौती देखिएको छ । 

बैङ्कहरूमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैङ्कहरूमा समस्या आउन सक्ने बैंकर्सहरुले बताएका छन् । उनीहरूले नेपालको बैङ्क तथा वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैङ्कहरूमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैङ्कहरूलाई अप्ठ्यारो पर्ने बताएका छन् । सरकारले बैङ्क तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्ता गरेको उनीहरूको भनाई छ । पछिल्लो बैङ्कहरू चुनौतीपूर्ण अवस्थामा कठिन रूपमा बाँचिरहेको बैंकरहरुले बताए । बैङ्कहरूमा देखिएको चुनौती समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैङ्कले गर्न आवश्यक देखिएको उल्लेख गरे । बैंकर्सहरुले राष्ट्र बैङ्कको अनावश्यक हस्तक्षेपका कारण बैङ्कले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । 

बैङ्कले सीमित बैङ्कको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैङ्कलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैङ्कहरू समस्यामा परेको बैंकर्सहरुको भनाई थियो । 

नेपाल बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष तथा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैङ्किङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैङ्किङ क्षेत्रले सकस भोग्नुपरेको बताए । उनले बैङ्कहरूमा तरलतामा देखिएको असमानताले पनि बैकहरूमा समस्या पारेको दाबी गरे। उनले अहिले बैङ्कहरूमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताए ।

उनले भने,‘नेपाली बैङ्किङ क्षेत्रको चार दशकको यात्रामा सम्भवतः बैङ्किङ क्षेत्र आजको दिनमा चुनौतीपूर्ण अवस्थामा उभिएको छ । विशेष गरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन,आर्थिक वृद्धि न्यून हुने र कर्जाको माग घट्दै जाँदा चुनौतीपूर्ण समय छौँ । बैङ्कहरूमा मुख्य रूपमा तीन समस्या देखेका छौँ ।’

उनले बैङ्कहरूमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैङ्कहरूमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए । उनले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको शिथिलता,बाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैङ्किङ क्षेत्रमा ठूलो चुनौती देखा परेको बताए । उनले यस्ता समस्याको कारणले बैङ्कहरूको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताए ।

उनले भने,‘ समय–समयमा देखिने तरलताको अवस्था छ । जुन धेरै हुने र कहिले थोरै हुने अवस्था हुँदा बैङ्कहरूलाई चुनौती रहेको बुझेका छौँ । बैङ्कहरूले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छौँ । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौँ ।’

सङ्घका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले पनि नेपालका बैङ्कहरू चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले बैङ्कहरूमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरू रहेको बताए । उनले बैङ्क तथा वित्तीय संस्थाहरूमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताए । उनले तथ्याङ्कमा बैङ्किङ क्षेत्र मध्यम स्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भए पनि आधारभूत रूपमा बैङ्किङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे। अध्यक्ष कोइरालाले बैङ्किङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उन नेपाल राष्ट्र बैङ्कले गर्दै आएको नियामकीय व्यवस्थाले बैङ्क तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे।

उनले भने,‘बैङ्किङ क्षेत्रमा धेरै समस्याहरू छन् । जसमा बैङ्कहरूमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरू रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैङ्कबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैङ्किङ उद्योगलाई दक्षिण एसियामा बलियो बनेको छ ।’

पूर्वबैंकर राजनसिंह भण्डारीले बैङ्कले सीमित बैङ्कको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैङ्कलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए । उनले राष्ट्र बैङ्कले बैङ्कका कार्यकारी अधिकृत,अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्न भन्ने गरेको बताए । उनले बैङ्कहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैङ्कका निर्देशन पूर्ण पालना गरी उच्च दरमा लाभांश बाँड्ने बैङ्कलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ