सङ्घीय कानूनहरुको निर्माणमा निरन्तर लागिरहेको छु - सभामुख घिमिरे [भिडियो]
तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
446
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै सङ्घीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे।
उनले तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए । उनले सङ्घीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरू अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको बताए । उनले सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए ।
उनले भने, ‘सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसङ्ख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै सङ्घीयताको सफल कार्यान्वयनको सूचक पनि हो । तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा थुप्रै मतभेद र विवाद छन् जस्तो मलाई लाग्दैन । सङ्घीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि नै केही कमी, कमजोरीहरू पनि अवश्य अभ्यासका क्रममा समाधान हुँदै गएका छन् । सम्बोधन हुँदै जाने नै छन् । सभामुखका रूपमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न मेरो प्रयत्न पनि निरन्तर रही रहेको छ । सङ्घीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति हो भन्ने मेरो बुझाइ छ ।’
सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे। कानून कार्यान्वयनको लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।