संसद् सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न जरुरी- सभामुख [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
508
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउनका लागि संसद् सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा १८ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरूको व्यवहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान अभिवृद्धि गर्नुपर्ने बताएका हुन् । उनले विश्वव्यापी रूपमा देखा परेका चुनौतीहरूको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरूको वृद्धि विकास मात्र नभई रचनात्मक ढङ्गबाट परिचालन गर्न जरुरी रहेको बताए । सङ्घीय संसद्को प्रभावकारिताको विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताए । उनले देशको राजनीतिक, आर्थिक र सामाजिक स्थितिको सापेक्षता समस्याको मागहरू गर्नुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए ।
उनले भने,‘संसद् सेवा प्रभावकारी बनाउनका लागि हाम्रा चुनौतीहरू पनि प्रशस्त रहेका छन् । ती चुनौतीहरूको सामना गर्नको लागि मुख्य गरिकन कर्मचारीभन्दा विशिष्टीकृत ढङ्गबाट हामीले गर्नुपर्ने अनन्त कामहरू छन् । त्यसका लागि हामीले कर्मचारीहरूको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ । चाहे प्राज्ञिक क्षमता होस् वा दार्शनिक क्षमताको कुरा होस् कि व्यवहारिक क्षमताको कुरा होस् । विश्वव्यापी रूपमा देखा परेका चुनौतीहरूको सामना गर्दै अगाडि जान सक्षम पार्नको लागि कर्मचारीहरूको वृद्धि विकास मात्रै होइन, शैक्षिक योग्यताको विकास गर्ने, यस क्षेत्रको अनुसन्धानात्मक ढङ्गबाट कामहरू गर्ने र यहाँ काम गरेबापत उनीहरूले अरू कर्मचारीको तुलनामा अनुसन्धानात्मक कामहरू गर्नेबारे हामीले सोच्न सकेका छैनौँ । यी समस्याको मागहरू गरिरहँदा हामी राष्ट्रियताको सापेक्षतामै गर्छौँ । देशको राजनीतिक स्थिति, देशको आर्थिक स्थिति, देशको सामाजिक स्थितिको सापेक्षतामा गर्छौँ । तर त्यो सापेक्षतामा पनि हामी ध्यान उत्कृष्ट गर्न सकिरहेका छैनौँ ।’
संसद् जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्नको लागि संसद् सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उनको भनाइ छ । वि.सं. २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।