काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्थापन महाशाखामा अड्डा जमाएर बसेका डा सुरेन्द्र चौरसियाको जिम्मेवारी फेरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि पकड जमाएर बसेका चौरसियाको जिम्मेवारी हेरफेर गर्दै उनको स्थानमा समन्वय शाखामा कार्यरत दयानन्द पन्तलाई जिम्मेवारी दिइएको छ ।
चौरसियालाई भने उपचारात्मक महाशाखा पठाइएको छ । चौरसिया उपकरण खरिद विषयमा विवादमा परिरहने व्यक्ति हुन् ।
यता ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडजोर्नी विशेषज्ञ डा बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा रुद्र मरासिनीलाई हटाएर डा रिजाललाई जिम्मेवारी दिइएको हो ।
यसअघि पनि डा रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा मरासिनी भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा रहने छन् ।
यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । क्याम्पस प्रमुख रहेकी बदना थापाको भने टेकु अस्पताल सरुवा भएको छ ।