arrow

लोकतन्त्रलाई सिद्ध्याउन निरङ्कुश प्रवृत्तिहरू बढ्दै गइरहेका छन् -देव गुरुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
dev-gurung-09-25.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिद्ध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरू बढ्दै गइरहेको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिद्ध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरू भइरहेको बताए । 

उनले विश्व भूराजनीतिक परिस्थितिहरूले गर्दा मुलुकको राष्ट्रियतामा गम्भीर सङ्कट पैदा भएको उल्लेख गर्दै उक्त सङ्कट मोचनको लागि कर्मचारी सङ्गठनले दृढतापूर्वक राष्ट्रियता र स्वाधीनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उनको भनाइ छ । आर्थिक सङ्कट पैदा गरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरू भइरहेको भन्दै उनले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गरे । 

उनले भने, ‘यतिखेर मुलुकको अगाडि मुख्य गरी तीन वटा समस्याहरु चुनौतीको रूपमा खडा भएका छन् । मूलकमा लोकतन्त्रको स्थापना भएको छ । केही समस्याहरूका बाबजुद पनि यसको रक्षा गर्नुको विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि पनि कर्मचारीको एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ । लोकतन्त्रलाई सिद्ध्याउने निरङ्कुश प्रकारको प्रवृत्तिहरू बढ्दै गइरहेका छन् । वर्तमान प्रणालीलाई सिद्ध्याउने खेलहरू भइरहेका छन् । राज्यलाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ । दोस्रो, विश्व भूराजनीतिक परिस्थितिहरूले गर्दा मुलुकको राष्ट्रियतामा गम्भीर सङ्कट पैदा भएको छ ।यो सङ्कटलाई मोचन गर्नको लागि कर्मचारी सङ्गठनले दृढतापूर्वक राष्ट्रियताको पक्षमा, स्वाधीनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता छ । तेस्रो, राज्यमा भ्रष्टाचारी, घुसखोरी, जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ गइरहेको छ । ऋणैऋणमा मुलुक डुबिरहेको छ । मुलुकलाई आर्थिक रूपमा कमजोर बनाउँदै सङ्कटको दिशामा धकेलिरहेको छ । वित्तीय सङ्कट गम्भीर रूपले पैदा भइरहेको छ । यसले राज्यलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त गर्ने दिशातर्फ गइरहेको छ । यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्नको लागि निरन्तर खबरदारी गर्नु जरुरी छ । अनियमितताको विरुद्ध र जनताको हितको पक्षमा कर्मचारीहरूको हितको पक्षमा निरन्तर लडिरहनुपर्ने आवश्यकता छ । ’

मुलुकमा गम्भीर आर्थिक, राजनीतिक र सामाजिक सङ्कट पैदा भएको उल्लेख गर्दै उनले मुलुकको सङ्कट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरू एकढिक्का भएर जानुको विकल्प नभएको बताए । गाण्तन्त्रवादी शक्तिहरू एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलबद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ