सभामुखको गुनासो- १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
555
Shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक सङ्घीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।
सांसदहरू आफू कानून बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानून निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको संसद्सँग तुलना गर्न नमिल्ने पनि बताए । संसद् सेवालाई थप प्रभावकारी बनाउन कानूनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘१७औँ संसद् सेवा दिवसको अवसरमा तुलनात्मक रूपमा हेर्ने हो भने संसद्लाई प्रभावकारी संसद् सेवामा केही प्रगति गरेका छौँ । तर त्यो प्रगति पर्याप्त छैन अझै धेरै प्रगति गर्नुपर्नेछ । हामीले गरेका उपलब्धिहरूलाई अरू मुलुकको तुलनामा होइन हाम्रै देशको तुलनामा हेर्नुपर्दछ । संसदीय अभ्यास पनि हाम्रै ढङ्गको परिवेश र परिस्थितिमा हेर्नुपर्दछ । एउटा महत्वपूर्ण कुरा मलाई के लाग्छ ने यो संसद् सेवा छुट्टै बनाउने निर्णय गरेर छुट्टै ऐन बाट गाइगेड भएर हामीले १८ वर्षसम्म काम गरिरहँदा खेरि संविधान निर्माण भइसकेको थिएन । देश सङ्घीय प्रणालीमा गइसकेको थिएन । त्यतिबेलै बनाएको कानून समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्त्वपूर्ण छ । यसमा हाम्रो ध्यान गइरहेको छैन । यसको पछाडि म व्यक्तिगत रूपमा के कुरामा सहमत छु भने हाम्रो कानून हामीले बनाउनुपर्छ भन्ने होइन, सरकारले कानून कहिले ल्याइदिन्छ भनेर हेर्ने प्रवृत्ति संसदभित्र जे छ । यसको प्रमुख कारण यही हो । संसद् सेवालाई प्रभावकारी बनाउँदै यसको महत्त्व बढाउने कुरामा हामी जानको लागि अब नयाँ ढङ्गबाट कानूनी कुराहरू सोच्नुपर्छ । त्यसको लागि आजको यो छलफल र दिवसले महत्त्वपूर्ण कुराहरू राख्नेछ ।’