बीआरआई अन्तर्गतका योजना अनुदान स्वरूप अघि बढाउन चीन सकारात्मक- परराष्ट्रमन्त्री राणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
574
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू अनुदान स्वरूप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन्। चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्र मन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरू अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् ।
देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिन सक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको पनि परराष्ट्र मन्त्री देउवाले जानकारी दिइन् । उनले भ्रमणमा दुई देशको पारस्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरू कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताइन्।
उनले व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताइन् । देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिन सक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताइन् । सो बारेमा चीन सरकारले आफूहरू आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेन्डाहरू ल्याउन आग्रह गरेको बताइन् ।
उनले भनिन्, ‘दुई देशको पारस्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेको कामहरू कसरी निरन्तरता दिने भन्नेमा धेरै जसो छलफल भयो । यसमा व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो । नेपालको स्वाधीनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्ने कुरा राख्नुभयो । हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनायौँ । ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टीभिटी नेटवर्क रहेको छ नेपालको बारेमा धेरे परामर्श भयो । यसलाई अगाडि बढाउने कुरा चल्यो । विभिन्न आयामहरूमा विगतका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरूको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरूले यसलाई पोजिटिभ्ली नै लिनुभयो । तपाईँहरूले पनि इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौँ कुन कुनमा सहयोग गर्ने हामी पनि छलफल गर्छौँ भने । नेपालको तर्फबाट अहिले हामीले लोन लिन सक्ने अवस्थामा छैनौँ, हामी एकदमै ग्राण्ड तपाईँहरूबाट प्राप्त हुने आशामा छाँै भन्ने कुरा राख्यौँ । देशभित्रको परिस्थितिका कारण लोन लिन सक्ने परिस्थिति छैन भन्ने कुरा उनलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा अझ कुराहरू अघि बढ्छ ।’