देशमै रोजगारी सिर्जना गर्न सरकारलाई युवा कांग्रेसको सुझाव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
303
Shares
काठमाडौँ । नेपाली कांग्रेसले युवाहरूको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै कांग्रेसले सो सुझाव पेस गरेको हो ।
बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरू गर्नुपर्ने माग आम जनता र युवाहरूको रहेको बताए । उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरु आक्रोशित भएको र युवाहरूको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिए । उनले आफ्नो दलको सरकार रहेपनि आफूहरूले युवा, बेरोजगार पीडितहरूको पक्षमा, सहकारी पीडितको पक्षमा, महँगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वाभाविक रहेको पुष्टि हुने उनको जिकिर थियो ।
उनले भने, ‘हामीले युवाको पक्षमा, बेरोजगार पीडितहरूको पक्षमा, सहकारी पीडितको पक्षमा, महँगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा हामीले आवाज उठाउनपर्छ । प्रधानमन्त्री स्वयं आएर सडकमा चक्का जाम गरेर भाषण गर्नुहुन्छ भने हामी युवाहरूले जनताको पक्षमा, युवाको पक्षमा आवाज उठाएर हिँड्ने कुरा त्यो अस्वाभाविक होइन । हामी हाम्रो सरकारलाई पनि के आग्रह गर्न चाहन्छौँ भने देशभर हामी हिँड्यौँ । युवाहरूको कुरा सुन्यौँ । बेरोजगारीको यस्तो विकराल अवस्था छ आज देशमा, युवाहरूमा यति ठूलो आक्रोश छ, त्यो सबैलाई थाहा छ । हाम्रो पार्टीका नेताहरू, हाम्रो सरकार यो कुरालाई नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठूलो समस्या आउन सक्छ । भोलि युवाको आक्रोश विद्रोहमा परिणत हुनसक्छ । त्यो हुँदा देशको हालत कहाँ पुग्छ । देशले भोलि ठूलो आन्दोलन खेप्नुपर्यो भने । त्यसैले हामी आजै सरकारको आँखा खुलाउन चाहन्छौँ ।’क
नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरूसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताए । कार्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको युवा संकल्प यात्रा मङ्सिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।