डहरेदेउरालीलाई साधना केन्द्रको रुपमा विकास गर्नुपर्छः सभापति शर्मा
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
2k
Shares
पर्वत । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले डहरेदेउराली दैवीय शक्तिको केन्द्र रहेको बताएका छन् । पर्वत र स्याङ्जा जिल्लामा पर्ने डहरेदेउरालीमा आयोजित एक कार्यक्रममा सभापति शर्माले यहाँ आउने बित्तिकै अनौठो अनुभूति प्राप्त भएको बताए ।
‘हामीले जानेका नजानेका धेरै सन्त महात्माले तपश्या गरेर सिञ्चित गरेको पवित्र स्थान हो, त्यसैले यो क्षेत्र नै स्वतः सिद्ध ठाउँ हो, पुण्य भूमि हो, यो ठाउँमा ध्यान, साधना गरेर धेरै महात्मा मुनीले मुक्ति पाएका छन्, हामीले यसको महत्वलाई जति साधनामा बदल्न सक्छौँ त्यति यो तीर्थ बन्छ’, उनले भने ।
सभापति शर्माले थपे, ‘यहाँ जस्तै भारतमा पनि सन्तहरुले सिञ्चित गरेको ठाउँ हुन्थ्यो भने त्यहाँको विकास कल्पना भन्दा बाहिरको हुन्थ्यो, तर साधन र अन्य विविध कारणले यो क्षेत्र पर्दाभित्र लुकेको जस्तो अनुभूति हुन्छ ।’
पर्यटकीय डहरेदेउरालीलाई साधना केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले भने, ‘पर्यटकले प्रकृतिको दर्शन गर्छन्, फोटो खिच्छन्, केहीबेर रमाउँछन्, तर वास्तविक तत्वको महत्व बुझ्न पाउँदैनन्, साधनाबाट व्यक्तिले म को हुँ, मेरो जन्म केका लागि भन्ने जस्ता प्रश्नको उत्तर पाउँछ ।’
यस ठाउँको प्रकृतिलाई अध्ययन गरेर ध्यान गरेमा स्वर्गीय आनन्द र मुक्तिको बाटो पत्ता लगाउनेमा विश्वस्त रहेको उनले बताए ।
सभापति शर्माले यो पुण्य भूमिमा शक्ति र आनन्दको महत्व बुझाउन साधनाको केन्द्रको रुपमा विकास गर्न सकिए विश्वभरबाट साधकको घुँइचो लाग्ने स्पष्ट पारे ।
यस ठाउँ देवी शक्तिको प्रतिक भएको र राम्रोसँग आराधना गरेमा मुक्तिको मार्ग खुल्ने उनले दावी गरे । अपार शक्ति भएको यो क्षेत्रमा विनिमय र व्यापार नगरी सेवाको भावले काम गर्नुपर्नेमा उनले जोड दिए ।
डहरेदेउरालीमा अत्यधिक जटिबुटी रहेको हुँदा सञ्जिवनी बाटिका बनाउँदा उपयुक्त हुने सुझाव दिए । शास्त्रका आधारमा मूलद्वारको उपयुक्त ठाउँमा हनुमानको मुर्ति राख्न उनले आग्रह गरे ।
कार्यक्रममा केदारेश्वर गुरुकुल आश्रमका पीठाधीश डा. चित्धन चैतन्य महाराज, गण्डकी प्रदेश प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेशसभा सदस्य रेखा गुरुङ, विश्व हिन्दू महासंघ केन्द्रीय उपाध्यक्ष शंकर खराल, फलेवास नगरपालिकाका पूर्वमेयर पदमपाणि शर्मा, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), नेता ज्ञानप्रसाद शर्मालगायतले बोलेका थिए ।
मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरेदेउरालीका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टेकनाथ खनालले स्वागत र घनश्याम पौडेलले सञ्चालन गरेका थिए ।