काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गरेका हुन् । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।