सत्ताधारी राप्रपाले भन्यो–संविधान संशोधन विधेयक तत्काल रोकौं
संशोधन विधेयक ल्याउनु अघि आफुहरुसँग छलफल नगरेकामा आपत्ति
प्रकाशित २०७३ मंसिर २० सोमबार
1.8k
Shares
काठमाडौं । सरकारमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा अघि नबढाउन आग्रह गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै पक्षसँग सहमति गरेर मात्रै संशोधन अघि बढाउन आग्रह गरेको हो ।
यस्तै, राप्रपाले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घेषणा गर्न समेत माग गरेको छ । बैठकपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधानको कार्यान्वयनका लागि २०७४ माघ ८७ भित्र प्रदेश र संसदको चुनाव हुनु अनिवार्य छ । चुनाव गर्न मधेस केन्द्रित राजनीतिक दलहरु एवं समूहले उठाएको जायज मागहरु सम्बोधन गर्न आवश्यक छ भनिएको छ ।
सत्तारुढ दल भएपनि सरकारले संविधान संशोधन विधेयक तयार गर्दा राप्रपासंग परामर्श नभएको तथा निर्णय प्रक्रियामा सहभागि नगराएकामा बैठक गम्भीर आपत्ति तथा खेल प्रकट गर्दछ –विज्ञप्तिमा भनिएको छ ।
यद्यपि, राप्रपाले संवैधानिक र संसदीय प्रक्रिया अनुरुप संविधा संशोधनका लागि दर्ता भएको विधेयकलाई प्रस्तुत नै गर्न नदिने कार्य उचित नभएको प्रतिक्रिया दिएको छ । विज्ञप्तिमा समस्याको समाधान खोज्ने थलो संसद हो, त्यसलाई अवरुद्ध गर्नु प्रजातन्त्र र विधिको शासनको मान्यता अनुकुल भएन । संसदमा छलफल गर्न पाउने अधिकारलाई निषेध गर्दा स्वभावतः अतिवादी प्रकृत्ति र शक्तिहरु हावि हुने छन् समेत भनिएको छ ।
संविधान कार्यान्वयनबारे देखिएको गतिरोध, निर्वाचनबारेको अनिश्चितता एवं मुलुकमा हाल विकराल हुँदै गइरहेको मुठभेडको स्थितिप्रति राप्रपाले चिन्ता जनाएको छ । यस्तै, उसले सबै दलहरु जिम्मेवार बन्नुपर्ने धारणा राखेको छ ।