arrow

विद्यार्थीले भारतीय दूतावास घेरे, रणजीतलाई घर फर्काउन माग

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
student-new-aaja.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा समर्थन जुटाउन भारतीय दूतावासले चलखेल गरेको भन्दै संशोधनको विपक्षमा रहेका दलका युवा तथा विद्यार्थी संगठनहरुले दूतावासअघि प्रदर्शन गरेका छन् ।

सरकारले रातारात दर्ता गराएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शन भइरहेकै बेला भारतीय राजदूत रणजीत रायले मधेस केन्द्रित दलका नेताहरुलाई दूतावासमै बोलाई मुख मीठो पारेर संविधान संशोधनको पक्षमा लाग्न दबाब दिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सत्ताधारी माओवादी केन्द्र र कांग्रेसको भ्रातृ संगठनबाहेक अन्य विद्यार्थी संगठनहरु सहभागि भएको एमाले भ्रातृ संगठन अनेरा स्ववियुका सचिव आरसी लामिछानेले हाम्राकुरालाई बताए ।

सचिव लामिछानेले भने, ‘संविधान संशोधन प्रस्ताव फिर्ताको लागि आन्दोलन भइरहेकै बेला भारतीय राजदूतले मधेसका नेतालाई संशोधनलाई सहयोग गर्न भन्दै दूतावासमा बोलाएर दबाब दिई कुटनीतिक मर्यादा उल्लंघन गरेकाले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएका हौं ।’ तत्काल त्यस्ता गतिविधि नरोकिए देश निकाला नै गर्नु पर्ने सम्मको कदम चाल्न माग गरेका छौं । दूतावासमा बोलाएर भोज खुवाउने कार्य तत्काल बन्द गर्न पनि भनेका छौ, उनले थपे, ‘कर्मचारी कर्मचारीकै हैसियतमा रहनु पर्दछ ।’

यस्तै, विद्यार्थीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा समेत मागेका छन् । प्रदर्शनका क्रममा एमालेका युवा तथा विद्यार्थी नेताले संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको आरोप लगाउँदै उनलाई तत्काल फिर्ता पठाउन माग गरे ।

प्रदर्शन गर्न दूतावासतिर अघि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोक्यो ।  दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेको सरकारले सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरी खटाएको थियो । एमालेसहित प्रतिपक्षीहरुले सरकारी कदम विरुद्ध सडक र सदनमा विरोध जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ