ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
527
Shares
काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप पनि लगाए ।
उनले दुई तिहाइ कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसद्लाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे । उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए ।
खनालले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पुर्याई सकेका थियांै । जुन नेकपामा पुर्याउँदै खेरी १० लाख पार्टी सदस्यहरू हामी थियौँ । संघीय संसद्मा हामी करिब दुई तिहाइ बहुमतमा थियौँ । र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ । र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ । देश बाममय बन्दै गइरहेको थियो । तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौँ, उनी निस्किए–भष्मासुर । यो भष्मासुरको कारणले गर्दा खेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थीतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो । र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसद्लाई विघटन गर्ने काम भयो । जसले गर्दा खेरी नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरू भयो । जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ । यो विखण्डन र विभाजनकै परिणाम स्वरूप हामीले पनि त्यो गलत कुरा विरुद्ध विद्रोह गर्नुपर्यो ।’