काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो । नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ ।
स्वास्थ्य मन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने घोषणा गर्नुभएकोमा तीन महिनामै घोषणा पुरा भएको हो । नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर करोडौ रुपैया खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए ।
कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैया सम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयामा प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
मानव अंग प्रत्यारोपण केन्द्रले त्यसको प्राविधिक तयारी गरिरहेको छ । केन्द्रले कलेजो प्रत्यारोपण सम्बन्धी ख्याति प्राप्त डाक्टर सहितको विदेशी टोली बोलाएर केही हप्तापछि नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने तयारी गरेको उनले बताए।
केन्द्रका निर्देशक डा श्रेष्ठले लामो समय सम्म हुन नसकेको यो काम अहिलेका स्वास्थ्य मन्त्री थापाको विषेश चासो र सक्रियताले संभव भएको बताए।