काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा युवा संघ नेपालले राजधानीको नयाँ वानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अपराह्न नयाँ वानेश्वरमा नेपालको नक्सा अंकित प्लेकार्ड सहित उपस्थित भएका युवाहरुले संविधान संशोधन प्रस्तावको विरोध गरेका हुन् ।
संशोधन विरूद्ध देशैभरी विरोध गर्ने जनाएको नेकपा एमालेको भातृ संस्था युवासंघले शुक्रबार वानेश्वरमा विरोध प्रदर्शन गरेको युवा संघका १ नं प्रदेश प्रमुख पर्शुराम बस्नेतले जानकारी दिए ।
सरकारले प्रदेश नं ५ का केही जिल्लालाई ४ नं प्रदेशमा गाभ्ने लगायतका प्रस्ताव सहितको संशोधन प्रस्ताव मंगलबार राती संसद् सचिवालयमा दर्ता गराएको थियो ।
उक्त प्रस्ताव दर्ता भएसँगै पश्चिम नेपालका जिल्लाहरु पाल्पा गुल्मी अर्घाखाँची लगायतका जिल्लाहरुमा व्यापक आन्दोलन भईरहेको छ । उक्त जिल्लाहरुमा सम्पूर्ण राजनीतिक दलहरुले आन्दोलनमा सहभागिता जनाएका छन् ।