विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सीईओ अकबर हुसेन छन् ।
उनीहरूसँग जनही ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो, जरिबाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।
सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए ।
उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानून विपरीत कार्य गरी सरकारको सम्पत्ति हानिनोक्सानी पुर्याएको अख्तियारको दाबी छ।