arrow

चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु

विद्युत उत्पादनको क्षेत्रमा विकास र विस्तारका लागि काम गर्ने सरकारको प्रतिवद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
shakti-basnet-ev.jpg

काठमाडौँ । चौथो हिमालयन हाइड्रो एक्स्पो शुरु भएको छ । बुधबारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरे । हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली गरिएको थियो । 

र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन् । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्‍याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु शुरु हुने आयोजक स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ । 

एक्स्पोको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ । नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले विद्युतीय सवारीसाधनहरुको र्‍याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भुमिका खेल्ने बताए ।

उनले भने, ‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी र्‍याली हाम्रो विद्युत हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ । नेपालमा थुप्र्रै बिजुली खपत गर्नुपर्नेछ । नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ । त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि र्‍याली गरेका हौँ । इलेक्ट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौँ ।’

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए । सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतए । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ