arrow

नेतृत्वको व्यवहार लोकतान्त्रिक हुन सकेन - प्रदीप पौडेल [भिडियो]

संविधानले भन्यो समानुपातिक प्रणाली राखेर भुँइमान्छेलाई माथि ल्याउँ तर त्यस अनुसार प्रतिनिधित्व गराउने काम भएन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
pradeep-poudel-01-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टीकाटिप्पणी हुने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरू मठाधीश बनेका कारण अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे । 

उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए । उनले संविधानले कुनै पनि मठाधीश, निरङ्कुश शासक र सामन्तीको परिकल्पना नगरेको भए पनि नेतृत्वको व्यवहार निरङ्कुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए । दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उनले नेतृत्व मठाधीशको रूपमा प्रस्तुत हुने गरेका बताए । उनले उनले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रूपमा प्रयोग नगरेसम्म दलीय व्यवस्था सुदृढ हुन नसक्ने बताए ।

उनले भने – ‘मैले शीर्षक हेरेँ । लोकतन्त्र, नीति, नेतृत्व र नैतिकता । एकदमै धेरै क्रिटिकल भएर भन्दा हाम्रो लोकतन्त्रमा यो तिन चिजबाहेक सबै कुरा छ । तर हाम्रो लोकतन्त्रभित्र यो छ भनेर नीति छ, नेतृत्व नैतिक वान छ, या समग्र राजनीति नैतिक वान छ भनेर भन्न सक्ने स्थिति छैन । नीति, नेतृत्व र नैतिकता नभएको लोकतन्त्र हामीले खोजेको लोकतन्त्र हो त ? मैले निराशा बाँड्न खोजेको होइन । दुनियाँमा लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ । लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली हुँदैन । संसारको सबैभन्दा अधिकार सम्पन्न नागरिक बन्न पाएका हामीहरू, हामीलाई अधिकार दिने यो व्यवस्थाप्रति किन असन्तुष्ट छौँ ? यो व्यवस्थाको यति ज्यादा किन टीकाटिप्पणी भइरहेको छ ? लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको यो उपलब्धि हाम्रालागि कामयाब किन हुन सकिरहेको छैन ? यसको खोट कहाँनिर छ ? यसको खोट संविधानभित्र छ, मान्छेहरूले भन्ने गर्छन् । यो संविधानको ६ वर्ष मात्रै भयो । ६ वर्षमै संविधानका धाराहरू फेरेर हामीले नयाँ व्यवस्था गर्नुपर्छ भन्ने कुरा उपयुक्त हो भन्ने लाग्दैन । संवैधानिक व्यवस्थाले लोकतन्त्र कमजोर बनाउने काम कहीँ पनि गरेको छैन । संविधान मात्रै भएर हुँदो रहेनछ । त्यो संविधान कार्यान्वयन गर्ने शैलीमा समस्या भयो भने लोकतन्त्र कमजोर हुँदो रहेछ । संविधानको आशय के हो ? संविधानले कुनै पनि मठाधीशको परिकल्पना गरेको छैन । संविधानले कुनै पनि निरङ्कुश शासकको परिकल्पना गरेको छैन । सामन्तीको परिकल्पना गरेको छैन । संविधानले त जनताका प्रतिनिधिलाई सेवक भनेको छ । तर आज हाम्रो नेतृत्वको व्यवहार सामन्तीको भन्दा कहाँनिर फरक छ ? हाम्रो नेतृत्वको व्यवहार निरङ्कुश शासक या राजतन्त्रभन्दा कहाँनिर फरक छ ? संविधानमा भएको आशय अनुसार नेतृत्वले व्यवहार गर्न नसकेको कारणले समस्या भएको हो । संविधानले भन्यो समानुपातिक प्रणाली राखेर भुँइमान्छेलाई माथि ल्याऊँ । प्रतिस्पर्धा गर्न सक्ने क्षमता बढाउ । तर आज नेपालको कुनचाहिँ नेताले संविधानको त्यो मर्मलाई बुझेर त्यस अनुसार समानुपातिक प्रतिनिधित्व गराउने काम भयो ? संविधानको आशय बमोजिमको संघीयता आज हाम्रो व्यवहारमा कस्तो भएको छ ? महँगो, बोझिलो संघीयता । बोक्नै नसक्ने संघीयता । चालु खर्च बढाउने संघीयता । केही सीमित मान्छेहरूले सुविधा उपभोग गर्ने संघीयता । सङ्घीयताको यो परिभाषा होइन । तर हाम्रो व्यवहारले सङ्घीयताको परिभाषा यस्तो बनाइदियो । दलको नेतृत्व नयाँ होस् वा पुरानो । नेतृत्वको सबै कुरा चल्छ । त्यो नेतृत्व होइन । मठाधीश हो । उसले आदेश गर्छ, फलानो, फलानो मन्त्री हुने । फलानो, फलानो मन्त्रालय लिने । त्यो भन्दा फरक कुरा अरू कसैले गर्न सक्दैन । उसले आदेश, फर्मान जारी गर्छ, यो विषयमा यसो भन्ने । त्यो भन्दा फरक कुरा विवेकमा लाग्यो भने पनि कसैले बोल्न सक्दैन । यो दलीय व्यवस्था हो । दलीय व्यवस्थामा दल सुदृढ नभएसम्म, दल लोकतान्त्रिक नभएसम्म, दलले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रूपमा प्रयोग गर्न नसकेसम्म दलीय व्यवस्था सुदृढ हुन सक्दैन । दलहरूलाई मठाधिसहरुले चलाएका कारणले समस्या उत्पन्न भयो । नेतृत्वको व्यवहार लोकतान्त्रिक हुन सकेन । विधि, व्यवस्था अनुसार होइन । व्यक्तिको प्रभुत्व लाद्ने ढङ्गबाट व्यवहार भयो । त्यसकारण टीकाटिप्पणी भयो । हामीले हाम्रो लोकतन्त्रलाई विधिको शासन भएको महसुस गर्ने स्थिति निर्माण गर्नका निम्ति, कानूनी राज्य भएको स्थिति निर्माण गर्नका निम्ति दलभित्र व्यापक रूपमा सुधारको आवश्यकता छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ