arrow

निरौला सामान्य प्रशासन मन्त्रालयको सचिव, कसको कहाँ सरुवा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
mukundaprasad-niraula-secretary-gov.jpeg

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्दप्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

हाल विनोदप्रकाश सिंह सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । यसअघि निरौला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए भने निरौलाले प्रमुख सचिव भएर बागमती प्रदेशको जिम्मेवारीसमेत सम्हालिसकेका थिए ।

त्यसअघि निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा सहसचिव थिए । निरौलालाई सामान्य प्रशासनमा ल्याएपछि सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सिंहले यसअघि गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए ।

आइतबार निरौलाले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् । यस्तै सरकारले लुम्बिनी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । 

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।



नयाँ