arrow

तीन दलको बालुवाटार बैठक निरर्थक : एमालेले यस्तो अडान राख्यो

बैठकमा चर्का चर्की : सत्ताधारी–प्रतिपक्षी दूरी बढ्यो

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
tin-dal-ka-neta-gafff.jpeg

काठमाडौं । संविधान संशोधनका विषयमा सहमति जुटाउने मुख्य तीन दलको प्रयास निरर्थक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालल सोमबार साँझ सरकारी निवास बालुवाटारमा डाकेको बैठकमा फेरिपनि सहमति जुट्न सकेन । यसअघि पनि प्रधानमन्त्री दाहालले पटक –पटक तीन दलका नेताहरुसँग संयुक्त र एकल वार्ता गरेका छन् ।

सोमबारको बैठकमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेकामा प्रतिपक्षी दलका नेताहरुले संविधान संशोधनको औचित्य नभएकाले सहयोग गर्न नसकिने प्रतिक्रिया दिएपछि बैठक ठोस समझदारी हुन सकेन । बैठकमा उल्टै चर्का चर्की भयाे ।

सत्ताधारीले एमालेले स‌विधान स‌शाेधन गर्न नदिने दम्भ देखाएकाे भन्दै एमाले नअाएपनि स‌ंशाेधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । एमालेले भने संविधान संशोधन प्रक्रिया अगाडि बढाए प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘सत्ता पक्षको तर्फबाट हामीले संविधान निर्माणका सहयात्री तीनै दल मिलेर संविधान संशोधन र निर्वाचनमा जाऔं भन्ने प्रस्ताव राख्यौं । तर, एमाले पार्टी संविधान संशोधनमा तयार नभएका कारण अब मधेशी मोर्चासँग समेत छलफल गरेर अगाडि बढाउँछौं ।’

माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधान संशोधन र निर्वाचनमा प्रमुख दलहरु मिलेर जाने प्रतिवद्धताबाट एमाले पछि हटेकाले सहमति हुन नसकेको बताए ।नेता पुनले भने, ‘हामीले संविधान निर्माणका सहयात्री दलहरु मिलेर संविधान संशोधन र निर्वाचनमा सँगै जान प्रस्ताव राख्यौं । नेकपा एमालेका नेताहरु केही दिन अघिसम्म संविधान संशोधनमा मिलेर जान तयार हुनुहुन्थ्यो । तर, बैठकमा उहाँहरुले आफ्नो पोजिसन बदल्नुभयो । हाम्रो आग्रह छ, उहाँहरुले पनि देशको पक्षमा जिम्मेवार भएर सोच्नुपर्छ । सहमतिमा नआउने परिस्थितिमा मधेशी मोर्चासँग छलफल गरेर सरकार प्रक्रियामा अगाडि बढ्छ ।’

एमाले उपाध्यक्ष भीम रावलले एमालेको तर्फबाट संविधान संशोधनको औचित्य नभएको कुरा प्रष्ट रुपमा राखेको जानकारी दिए । रावलले भने, ‘प्रधानमन्त्रीले संविधान संशोधनमा मिलेर जान प्रस्ताव राख्नुभयो । मधेशी मोर्चासमेत तयार नभएको र संविधान संशोधनको औचित्य नभएका कारण हामीले सरकारलाई संविधान संशोधन प्रस्ताव अघि नबढाउन भनेका छौं ।’

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले सीमाङ्कनमा विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले अघि सारेको साझा प्रस्तावको वरिपरि रहेर सहमति खोज्न प्रस्ताव गरे । तर, नेकपा एमालेका नेताहरुले संविधान संशोधनको औचित्य नभएको धारणा राखेपछि ठोस सहमति हुन सकेन ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मन्त्री रमेश लेखक, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ