पाँचथर ।व्यवसाहिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीन जना कृषकलाई यसवर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमकावीच पाँचथर भारपा ८ का लिलाप्रसाद अधिकारी,अमरपुर ६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा ४ की इन्द्रकुमारी लावतीलाई जनही नगद दश हजार रुपैया र सम्मानपत्र सहित पुरस्कृति गरिएको हो ।
जिल्ला कृषि विकास कार्यालय पाँचथरले विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरेको एक समारोहवीच उनीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको हो । उनीहरुले आधुनिक कृषि प्रविधिवाट तरकारी,फलफुल र सुन्तला खेती गर्दै आम्दानीको स्रोत वढाउनका साथै समाजमा रहेका सर्वसाधारणलाई त्यसतर्फ अग्रसर हुने वाटो देखाएकाले पुरस्कृत गरिएको बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले वताए ।
उनीहरुलाई पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापा,स्थानीय विकास अधिकारी भानुभक्त वराल सहित जिल्लाका राजनैतिक दलका प्रमूखहरुले अविर र फुलमाला दिएर सम्मान समेत गरेका थिए ।