arrow

समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुँदैन : उपेन्द्र यादव

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

पर्सा  । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् । सङ्घीय समाजवादी फोरम पर्साले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन सक्दैन भने ।

केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम, आदिवासी जनजाति, दलित र विभेदमा पारिएका सबैलाई समान अधिकार प्रदान गरे संविधान कार्यान्वयन हुने नेता यादवको जिकिर थियो ।

मधेसको मुद्दालाई ओझेलमा पार्न केही दलहरुले अङ्गीकृत नागरिकताबारे भ्रम सिर्जना गरेको अध्यक्ष यादवले बताए । नेपालमै जन्मिएका व्यक्तिमात्र नेपालको राष्ट्र प्रमुख हुनुपर्ने आफूहरुको मान्यता रहेको प्रस्ट गर्दै नेता यादवले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधानमा उल्लेख भएअनुसारको अधिकार दिनुपर्ने विचार राखे ।

अध्यक्ष यादवले सरकारले मधेसी मोर्चासँग कुनै सल्लाह नै नगरी चारबुँदे संशोधन प्रस्तावको हल्ला फिँजाएको आरोप लगाए । ‘प्रचारमा आएजस्तो चारबुँदे संशोधन प्रस्तावले कुनै समस्या समाधान नगर्ने भएकाले त्यसलाई मोर्चाले स्वीकार गर्दैन, –उनले भने ।

नेता यादवले संसद्, राज्यसभादेखि गाउँपालिकासमेतलाई जनसङ्ख्याका आधारमा टुङ्ग्याउनुपर्ने विचार राखे । तराई मधेसको भू–भागलाई नछुट्ने गरी राज्य पुनःसंरचना हुनुपर्ने र नेता यादवले पहिचान र सामथ्र्यका आधारमा प्रान्तको सीमा निर्धारण हुनुपर्ने यादवको धारणा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ