निधिले दिए स्पष्टिकरण : हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुनै योजना छैन
प्रकाशित २०७३ मंसिर ४ शनिबार
1.5k
Shares
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना नरहेको स्पष्टिकरण दिएका छन् ।
नेपाल औषधि व्यवसायी संघको केन्द्रीय साधारण सभाको शनिबार उद्घाटन गर्दै मन्त्री निधिले संविधान संशोधनको मुद्दालाई बिथोल्नका लागि हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन सरकार लागि परेको भनेर भ्रम सिर्जना गर्न खोजिएको जिकर गरे ।
संविधान संशोधनको गृहकार्य भइरहेको सुनाएका गृहमन्त्री निधिले अंगीकृत नागरिकलाई राज्यको उच्च तहमा लैजाने गरी संविधानको संशोधन नगरिने समेत स्पष्ट पारे ।
उपप्रधानमन्त्री निधिले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अनिवार्य रहेको उल्लेख गरे । मन्त्री निधिले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसकेमा संविधान नै धरापमा पर्ने बताए । त्यसैले वर्तमान सरकारको ध्यान सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधनमा केन्द्रित रहेको गृहमन्त्री निधिको भनाई छ ।
कार्यक्रममा मन्त्री निधिले औषधि व्यवसाय जीवनसंग सरोकार राख्ने व्यवसाय भएकोले व्यवसायीहरुलाई पेशागत रुपमा इमान्दार हुन आग्रह गर्दै संघीय संरचना अनुसार लागु औषध नियन्त्रण लगायतका औषधी सम्बन्धी विद्यमान कानुनमा परिमार्जन गरिने सुनाए ।
लागु औषध सेवनका कारण युवा पुस्ता बिग्रन लागेकोमा चिन्ता गर्दै निधिले त्यसतर्फ व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गृहमन्त्री निधिले सरकार हदैसम्म व्यवसायी मैत्री बन्ने उल्लेख गरे ।
‘सरकार व्यवसायीका समस्या सुन्न तयार छ,’ उनले भने, ‘तपाईंहरु पनि आफ्ना सदस्यहरुलाई अनुशासनमा राख्नुहोस् ।’
गृहमन्त्री निधिले औषधि ऐन– २०३५ सहित धेरै कानुहरु संशोधनको चरणमा रहेकाले सुझाव दिएर सहयोग गर्न अपिल गरे । लागू औषध विक्री गर्नेभन्दा सेवन गर्ने मात्रै कानुनी दायरामा आएको भन्दै निधिले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सरकारले नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनको तयारी गरेको बताए । ‘औषधि लिमिटेड कसैको प्रतिस्पर्धामा आउने होइन,’ उनले भने, ‘सरकारको प्रयासलाई व्यवसायीले साथ दिनुपर्छ ।’
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले स्वास्थ्यमा ग्रामीण जनताको पहुँच स्थापित गर्न सरकारी नीतिलाई सहयोग गर्ने बताए ।
मिश्र सम्मानित
कार्यक्रममा कान्तिपुर दैनिकका प्रमुख संवाददाता अतुल मिश्र सम्मानित भएका छन् । भूकम्प र नाकाबन्दीका बेला सञ्चारमाध्यममार्फत स्वास्थ्य तथा स्वास्थ्यसँग सम्बन्धि समस्यालाई उजागर गरेको भन्दै मिश्र सम्मानित भएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले दोसल्ला ओढाएर सम्मान गरे । संघले ताम्रपत्र र नगद १० हजार रुपैयाँ सहित मिश्रलाई सम्मान गरेको हो ।