साउदीबाट फर्किएका पाँच युवाले प्रधानमन्त्रीलाई भेटेर के भने ?
प्रकाशित २०७३ मंसिर ४ शनिबार
4.8k
Shares
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री कार्यालयमा भेट गरी उद्दार गरिएका युवाहरुले आफूहरुलाई उद्धार गरिएको भन्दै सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिए । सरकारले उनीहरुको भरखरै उद्धार गरेको हो ।
उद्धार गरिएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले भने, ‘हामी गएको कम्पनि अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा माथ्र्यो, त्यो बेला हामी कम्पनि छोडेर भाग्नुपथ्र्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौंपटक भाग्यौं ।’
प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ’, आफ्नो पीडा सुनाउँदै मिजारले थपे, ‘मेनपावर र कम्पनिले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गर्यौ र हामीलाई उद्दार गरियो, हाम्रो उद्दार गर्नुभएकोमा प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई विशेष धन्यवाद छ ।’
भेटमा प्रधानमन्त्रीले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराउँदै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताए ।
श्रावण ३ गते त्रीभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार बि.क., कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र बौद्ध, काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा जनही ९० हजारदेखि १२५ हजारसम्म खर्च गरि महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट बैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए ।
अलपत्र परेका उनीहरुलाई प्रधानमन्त्री कार्यालयको विशेष पहलमा मंसीर ३ गते नेपाल ल्याइएको थियो । भेटमा प्रधानमन्त्रीले मेनपावरलाई मर्यादित र व्यवस्थित बनाउन सरकार थप संवेदनशील भएर लाग्ने बताए ।