च्यारिटी फुटबल : नेपालले जापानलाई हरायो, नवयुग हिरो
प्रकाशित २०७३ मंसिर ४ शनिबार
1.3k
Shares
काठमाडौं । नेपाल र फ्रेन्ड्स अफ जापानबीचको च्यारिटी फुटबलमा नेपाल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।
नेपाललाई विजयी गराउन नवयुग श्रेष्ठले गोल गरे । उनले दोस्रो हाफपछि ५८औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बिमल घर्ती मगरले दिएको पासमा बिक्रम लामाले प्रहार गरे । जापानी टोलीका गोलरक्षकले बल रोकेपनि नियन्त्रणमा लिन सकेनन् । सोही मौकाको सदुपयोग गर्दै नवयुगले गोल गरिदिए ।
जापानले इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा नेपाल विजयी भयो । नेपालले घरेलु मैदानमा जित निकाल्नुलाई महत्वपूर्ण मानिएको छ । यस्तै, नेपाली प्रशिक्षक ग्यातुको कोजीले आफ्न दलिललाई सावित गरिदिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा कोजीले नेपाली टोली जितकै लागि खेल्ने बताएका थिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको टोलीबीच खेल भएको हो । अखिल नेपाल फुटबल सङ्घ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा आयोजित फुटबल प्रतियोगिताबाट संकलित रकम भूकम्पपीडितको सहयोगार्थ खर्च हुनेछ ।