arrow

कुरा मिटरब्याजी पीडितको

गृहमन्त्री भने - पीडितको नाममा खेल खेल्ने काम नगरौँ [भिडियो]

साढे पाँच हजार मिटरब्याज पीडितलाई न्याय दिने काम भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
naraankajis.jpg

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको नाममा खेल नखेल्न आग्रह गरेका छन् । साढे पाँच हजार मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइरहेको  बताउँदै उनले  पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्ने बताए ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले तत्कालीन आयोगमा आएका उजुरीहरूलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपिल गर्ने बताए । 

उनले प्रहरीले पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ । त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए । उनले पीडितलाई हर हालतमा न्याय दिने बताए ।

उनले भने – ‘अहिले साढे पाँच हजार जति मिटरब्याजी पीडितहरूलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठुलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानून छ । बाँकी रहेका सबै उजुरीहरूलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ । जिल्ला प्रहरी कार्यालयले अब स्वैच्छिक मेलमिलापको निम्ति अपिल गर्छ । पीडितलाई न्याय दिने गरी मेलमिलापको प्रयास गर्छ । त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ ।  यो प्रक्रियामा हामी छौँ । त्यस कारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ । म सबैलाई अपिल गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितको नाममा खेल खेल्ने काम नगरौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ