इटहरी । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन ।
१५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन् ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको बन्द आह्वान भएको गत कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी दिए ।
ती बालक बाहिरिनासाथ प्रहरीलाई समेत खबर गरिएको पनि उनले जानकारी दिए ।
सम्भवतः बालग्राम आसपासकै क्षेत्रमा र आफन्तको घरमा गएको अनुमान गरी ती सम्भावित स्थानमा व्यापकरुपमा खोजतलास जारी गरिएको पनि उनले जानकारी दिँदै यतै आसपासका क्षेत्रमा लुकेर कसैको घरमा रहेको हुनसक्ने अनुमान गरी बालग्राम परिवारले व्यापक रुपमा प्रहरी समेतको संलग्नतामा खोजी जारी रहेको बताइएको छ ।
ती सबै बालक अभिभावक नभएका र कोही कारागारमा जेल सजायमा रहेका मानिसका छोरा रहेको रामधुनीभासी नगरपालिका–४ का रेवन्त सिंहले थप जानकारी दिँदै सम्पर्कविहीन भएकामध्ये इटहरी—४ का सबिन बस्नेतका बाबुले आमाको हत्या गरेपछि उनी संरक्षणका लागि बालग्राम भिलेजमा रहँदै आएको जानकारी दिए । रासस