काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार बनेको सय दिन पुरा भएको अबसरमा सरकारले अहिलेसम्म गरेका काम कार्वाहीबारे जानकारी गराइरहेका छन् । पत्रकार सम्मेलन मार्फत काम कार्वाहीबारे जानकारी गराउँदै प्रधन्मन्त्री दाहालले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
दाहालले तोकिएकै मितिमा सबै निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक तयारी गरिरहेको जनाए । आगामी चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनबारे दाहालले सरकारले स्थानीय तह पुर्नसंरचना आयोगलाई दिएको नयाँ मापदण्ड अनुसार आयोगको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । सरकारले आयोगलाई ईलाकालाई नै मुख्य आधार मानेर स्थानीय तहको पुर्नसंरचना गर्न निर्देशन दिएको थियो ।
२०७४ माघ ७ अघि नै स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर त्यसका लागि कम्तीमा पनि आगामी चैतभित्र स्थानीय तहको निर्वाचन गराइसक्नुपर्ने छ ।
निर्वाचन आयोगले भने निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने कुरा कठिन बन्दै गएको जनाएको छ । चैतमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले कम्तीमा पनि १ सय २० दिन अर्थात चार महिना आवश्यक पर्ने पटकपटक बताउँदै आएको छ ।
चैतमा निर्वाचन गर्न निर्वाचन आयोगले मंसिरसम्ममा निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने छ । र मिति घोषणा अघि नै स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गराइसक्नुपर्ने छ । यद्धपि मंसिर दोस्रो सातासम्म स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन प्राप्त भएमा चैतमासम्ममा निर्वाचन गर्ने सम्भावना जीवितै रहेने छ ।
स्थानीय तह पुर्नसंरचना आयोगले पनि मंसिर दोस्रो साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । यद्धपि आयोग सो कुरामा अझैं स्पष्ट भने भइसकेको छैन ।
सरकारले ईलाकालाई नै मुख्य आधार मानेर स्थानीय तहको पुर्नसंरचना गर्न भनेपछि आयोगले सक्नै लागेको काम पनि पुन: सुन्यबाट थालेको हो । ५ सय ६५ स्थानीय तह हुनेगरि काम थालेको आयोगले पुन: सरकारको निर्देशन अनुसार कम्तीमा पनि ७ सय ४४ स्थानीय तह रहने गरी काम सुरु गरेको छ ।
नयाँ कार्यविधि अनुसार ५० भन्दा बढी जिल्लाको प्रतिवेदन आएको आयोगले जनाएको छ ।