काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले केही दिन अघि भारतको गोवामा इन्डिया फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा तिब्बतमा प्रतिबन्धित व्यक्तिसँग भेटेको भनेर आएको समाचारको खण्डन गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन गएका देउवाले उक्त कार्यक्रममा उद्घाटन सत्रको प्रमुख अतिथिका रुपमा सभापति श्री देउवाले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी बक्ताका रुपमा मञ्चमा रहेका थिए ।
काँग्रेसले उक्त शुक्रबार एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको उद्घाटन सत्र सकिने बित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिएको जनाएको छ । उसले तर यो तथ्यका बाबजुद पनि केही नेपाली सञ्चारमाध्यमले पटक–पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन । त्यसको चियोचर्चो गर्ने विषय पनि होइन । त्यसका बाबजुद कहाँ कहाँको तस्वीर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति सम्वेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’
विज्ञप्तीमा नेपाली काँग्रेस पार्टी र सभापति देउवा पनि एक चीन नीतिप्रतिको दृष्टिकोणमा संवेदनशील रहेको भन्दै एक चीन नीति नेपाली काँग्रेसको विश्वास रहेको जनाएको हो । विज्ञप्तीमा उल्लेख गरिएको छ ‘नेपाली कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ छ । यस्ता भ्रामक र कपोल्कल्पित प्रचार गरी नेपाली काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यूपूर्ण हो र यसको नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ ।’ भविष्यमा सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नको लागि पनि सम्बद्ध सबैमा नेपाली कांग्रेसले अनुरोध गरेको छ ।