arrow

स्वास्थ्यमन्त्रीलाई पदबाट हटाउन तोसिमाको माग[भिडियो]

'तीन अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका बस्नेतलाई किन सोही मन्त्री बनाएको ?'

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
toshimas-karki-s.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छन् । 

हुँदै नभएको आधारभूत अस्पतालहरूको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उनको जिकिर थियो । 

मंगलवार सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरूमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गरिन् । 

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्य मन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनी पटक पटक प्रश्न समेत गरिन् । उनले कानुन विपरीत कर्मचारीहरू हटाएर मन्त्री बस्नेतले वीर अस्पताल लगायतका अस्पतालका बिरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन् । 

सांसद कार्कीले भनिन्, ‘हाम्रो माननीय स्वास्थ्य मन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्य मन्त्री हुँदा टेरामेक्स प्रविधि ल्याउने प्रक्रियामा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइयो ? भन्ने मेरो प्रश्न । र, साथसाथै जब उन स्वास्थ्य मन्त्री हुनुभयो । आज लगभग ७ महिनाभन्दा बढी भइसकेको छ । उनले गर्नु भएको मनोमानीहरु, गतिविधिहरू र अनैतिक कामहरूको सूचि निकै लामो छ । म यहाँ केही राख्न चाहन्छु । नियम मिचेर ऐन, कानुनको पनि बेवास्ता गरेर उनले मनपरी ढङ्गमा निर्देशकहरू हटाउने काम गरेका छन् । भक्तपुर क्यान्सर हस्पिटलका निर्देशक डा. विष्णुदत्त पौडेललाई हटाए । यो यो निर्णयलाई फेरी अदालतले उल्टाई दियो । त्यस्तै गरी स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक डा. दामोदर बास्तोलालाई पनि उनले हटाए मनोमानी तरिकाले । फेरि अदालतले यो निर्णय कार्यान्वयन नगर्न भनेर आदेश दियो । त्यसपछि फेरि उनले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने काम गरे । फेरि अदालतले यो निर्णयलाई उल्टाई दियो । नरदेवी आयुर्वेद औषधालयका निर्देशक डा. प्रदीप केसीलाई समेतलाई हटाएर उनले अन्य कोहीलाई नियम मिचेर निर्देशक तोकियो भन्ने समाचारहरू पनि आइरहेको छ । यति मात्रै होइन, यसमा मात्रै उनी रोकिएनन् सभापतिज्यू, उनले के गरे थाहा छ तपाईँलाई ? उनले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरूलाई कुनै प्रक्रिया पनि पूरा नगरीकन ठाडो आदेशमा कामबाट हटाए । र त्यसको एक महिनामा एक दिने सूचना जारी गरेर आफ्नै जिल्लाका मानिसहरूलाई भर्ती गर्ने गरी गुपचुप अन्तर्वार्ता लिएर कर्मचारी राख्ने काम गरिरहेको समाचार पनि आइरहेका छन् । त्यसको सत्यतथ्य छानबिन हुनु¥यो सभापतिज्यू । वीर अस्पतालमा १३३ वर्षदेखि निःशुल्क रूपमा खाना, खाजा खुवाउने गरिएको थियो बिरामीहरूका लागि । यो सुविधा थियो । त्यो मात्रै होइन, बिरामीहरूलाई त्यहाँ अक्सिजन पनि निःशुल्क रूपमा दिइराखिएको थियो । त्यसको समेत पनि बजेट कटौती गरेर अहिले यस्तो अवस्थामा वीर अस्पताल पुग्यो कि ग्यास कम्पनीले पत्र काटेर चेतावनी दिएको छ ग्यास सप्लाई बन्द गर्छौँ भनेर । यो यो भयो भने दुर्घटना हुन्छ सभापतिज्यू । जनताले पाउने अक्सिजन, खाना, खाजा कटौती गर्नेसम्मको यो हर्कत गर्नलाई उनी किन अघि बढिरहेका छन् ? उनको विशेष इन्ट्रेस्ट खरिद प्रक्रियामा धेरै देखियो । निर्माण नै नसकिएका आधारहरू अस्पतालहरूका लागि उनले उपकरणहरू खरिद गर्न लागे । २ अर्ब ४५ करोड रुपैयाँमा स्वास्थ्य सामग्री, खरिद गर्ने काम अघि बढाइएको छ । र एक अर्बको त खरिद पनि अघि बढिसकेको छ भन्ने खालका समाचारहरू आइरहेका छन् । आफू निकट व्यापारीहरूमार्फत खरिद गर्न खोजिएको छ । दरबन्दी थप्नलाई चाहिँ कुनै चासो नदेखाउने, विभिन्न अस्पतालहरूमा भवन बनेका छन्, उपकरण छन् । तर दरबन्दी नभएका कारण अस्पताल चल्न पाएका छैनन् । अनि, भवन नै निर्माण नभएको ठाउँमा उपकरण खरिद गर्न अघि बढ्ने ? यति मात्रै होइन, सभापतिज्यू, बागमती प्रदेशमा सिटी स्क्यान मेसिन किन्नका लागि ३ वटा जिल्ला अस्पतालका लागि त्रिशूली अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि सेटिङ मिलाएर नौ करोड कमिसनको खेल खेल्न लागिएको आरोप आरोप आएको छ । कहिले तिमीहरू काम गर्न सक्दैनौँ भने आत्महत्या गर भनेर निर्मम तरिकाले भन्ने यस्तो स्वास्थ्य मन्त्री रहेसम्म मुलुकका ३ करोड जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ । यसमा यो समितिको विशेष चासो हुनु पर्दछ । यो समितिको मातहत हुनुभएका स्वास्थ्य मन्त्रीलाई बोलाएर स्पष्टीकरण माग्नुपर्ने हो कि, जवाफ माग्ने हो कि अथवा यो छानबिन प्रक्रियालाई निष्पक्ष हुनु दिनका लागि उनले यो पदबाट हट्नुपर्ने हो ? यो निर्णय चाहिँ हामीले गर्नुपर्छ सभापतिज्यू । होइन भने ठूलो दुर्घटना हुन सक्छ । यी मन्त्रीको गतिविधि हेर्दा निकै असफल देखिन्छन् । यिनलाई यो पदबाट हटाउनका लागि समितिले सुझाव दिनुपर्छ भनेर मैले भन्न चाहेँ ।’

सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौती गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ