arrow

इजरेल युद्धले चुँडियो मन, तुहियो सपना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
anan-meheta.jpg

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरेल जाने सोचमा थिए ।  पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरेलको सपना देख्दै आएका मेहता इजरेल युद्धपछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरेल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौं देखिको उनको सपना समेत तुहिएको छ । 

पढ्दापढ्दै इजरेल गएका साथीहरूले आतङ्कवादी आक्रमणमा ज्यान गुमाउनुपरेको युद्धपश्चात् भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफूलाई पुर्‍याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरेल पुगेको हुने थिएँ । साथीभाइ जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनी विदेसिने समयलाई पछि सारेको थिए । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उनी गुमाउनुपरेका साथीभाइ सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् । ’ 

इजरेल युद्धपछि मन चुँडिएको बताउने अमन अब विदेसिने आफ्नो सपना सपनामै सीमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’ 

हुन तः हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेती बाली लगाउन थालिसकेका थिए । त्यस बेला अनुसन्धान तथा सिकाइका रूपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यावसायिक खेतीका रूपमा अँगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालीन रूपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो युद्ध पश्चात् त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार । 

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई  अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेसिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोचमा रहेको अमनले बताए । उनले विदेशिने सोच बदलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए । 

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औँल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्न सके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यावसायिक रूपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ