arrow

लुम्बिनी केबलकार जेठ १५ गतेदेखि सञ्चालन हुने, वसन्तपुरको कामाख्या मन्दिरमा आजदेखि एक हप्ते पूजा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
lumbini-cable-car.jpg

बुटवल। बुटवलको लुम्बिनी केबलकारको यहीँ जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार  व्यावसायिक रूपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राण प्रतिष्ठा गरी पूजा आराधना सुरु गरिएको छ।

भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए।

सप्ताहव्यापी पूजा आराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरू आउने गौतमले बताए। सप्ताहव्यापी पूजा आराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिँदै छन्।

कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए।

सप्ताहव्यापी पूजा आराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यावसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए। केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ।

बुटवलको गोल पार्क बम घाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म ३ किलोमिटर दुरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो। आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौला कालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए। भारतको गोरखपुर, लखनउ लगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने  सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए। केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन्।

मोनो केवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला  रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। खास गरी गर्मी मौसममा वसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा  साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले  बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ