arrow

फ्ल्यासब्याकः लक्कि बास्टर्ड–५

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० जेठ १३ शनिबार
flashback-lucky-bastard5.jpg

बिहानको ८ बज्दै थियो । जेठको महिनामा ८ बज्दा सूर्य जमीनबाट करिब ३० डिग्री माथि उठिसकेको हुने हुनाले अफिस जान हतार महसुस हुनु स्वभाविक नै थियो । अफिस जानुअघि पाउडर रूममा दाह्री काट्ने जोहो गर्दै गर्दा गर्दनमा सिरु झैं सेतै फुलेका ठाडा रौँ देखिए । 

मानिसको स्वभाव न हो सम्याएर अलिक राम्रो बन्न मन लाग्यो । काठमाडौँको नक्सालस्थित म बसेको होटेलको हेयर शैलुन १० बजेपछि मात्रै खोल्ने रहेछ । म हतार हतार होटेल बाहिर निस्केँ र शैलुन खोज्दै दायाँतिर मोडिएँ । 

गाडीका चर्का आवाज अनि उत्तिकै चर्को धुवाँ धुलो हुँदै अगाडि बढेँ । पाँच सात घर नकट्दै म हिँडेकै साइडमा शैलुनको पोस्टर देखियो । तलको तस्बिरमा मेरो पछाडि उभिएर केश काटिरहेका यादव ठाकुर (नाम स्वीकृति लिएर लेखिएको) का दाजुले खोलेका रहेछन् त्यो शैलून । 

म शैलून भित्र पस्दा यादव शैलून अगाडि राखिएको काठको बेन्चमा बसेर घाम ताप्दै थिए । उनी दाजुसँग रिसाएर त्यहाँ बसेका छन् भन्ने कुरा मलाई थाहा हुने कुरै भएन । तर म भित्र पसेपछि उनी भने कृत्रिम मुस्कान लिएरै भए पनि शैलूनभित्र पस्न बाध्य भए । किनकि उनका दाजु त्यतिबेला अर्को मानिसको टाउकोको केश काट्न ब्यस्त थिए । मलाइ हातले संकेत गरेर कुर्सीमा बस्न अनुरोध गरे ।

म बसिसकेपछि अलिक मुस्काउँदै अवधि मिसिएको नेपालीमा भने, ‘सेतै दाह्री आउने जस्तो बुढो त देखिनु हुन्न हजुर । कपाल त फेरि अलिक कालै छ । अचम्ममा पार्नु भयो हजुरले ।’

मैले, ‘यस्तै हो भैया । अपुन बुढाइल गय’ भन्दै पछाडि गर्दनका सबै सेता रौं नदुखाइकन काटिदिन अनुरोध गरेँ । उनले आफ्ना साथीहरुसँगै विदेश जाने रहर पूरा नभएपछि दाजुको पसललाई नै बाँकी जीवनको लागि विश्वविद्यालय सम्झी गत ६ महिनादेखि पुरुषहरूको केश काट्न सिकिरहेका रहेछन् । तर उनी अझै त्यो पुस्तैनी पेशामा नेपालका राजा र नेताहरू जस्तै निपूर्ण भने भइसकेका थिएनन् । 

पेशामा निपूर्ण हुनको लागि उक्त पेशा प्रतिको लगाव, अनुभव र अवसरको महत्वपूर्ण भूमिका रहन्छ । शायद यादवसँग जन्मैदेखि प्राप्त अवसर थियो । तर लगाव र अनुभव भने शून्य । उनले शायद आफ्ना दाजु र बाबुजीले काइयोँ माथिको केश काट्दा चलाएको कैँचीको आवाजमा संगीत सुनेनन् ।  कल्यांगमल्यागं मात्रै सुने । 

यदि यादवले त्यो कैँचीको अविरल कपाल कटाइमा सांगीतिक लय महसुस गरेको भए आज कुरा अर्कै हुन्थ्यो । विदेश जाने सपना तुहिँदा शायद
दिक्क पनि मान्नु पर्दैनथ्यो ।

ठाकुर दाजुभाइको त्यो शैलून त्यति राम्रो र आकर्षक थिएन । तर म त्यहीँ गएँ । नजिकै थियो; अनि मसँग समय पनि कम थियो । यादवले काम राम्रोसँग सिकिसकेका रहेनछन् । अलिक दबाएरै ब्लेड चलाए । उक्त दवाबपूर्ण चलाइपछि मेरो गर्धन दधारिएर पीडा महसुस भएको मात्रै होइन कि केही बेरपछि त घाँटी पछाडिको छुरा चले जति सबै ठाउ नै रातो भयो । 

त्यतिबेला मलाई अलिक राम्रो केश काट्ने ठाउँ नरोजी उक्त शैलून रोजेकामा हल्का पछुतो भइरहेको थियो । तर मलाई धेरै वर्ष पहिले जस्तै सामान्य देशी शैलूनमा केश कटाएर टाउकोको मसाज लिने रहरले पनि गाँजेको थियो शायद । 

खैर म रिसाइसकेको भने थिइन । रिसाउनुको अर्थ पनि थिएन । जे हुनु भइसकेको थियो । यादवलाई मैले सहेको महसुस भएछ । ‘माफ गर्नुहोला हजुर । गलत्ती भयो । भर्खर सिखिरहेछु ।’

उनका दाजुले त्यो कुरा सुनेपछि मसँग ३० सेकेण्डको माफीनामा जाहेर गरे । अनि मैले नरोक्दासम्म भाइलाई ‘ननस्टप’ गालीको वर्षा गरे । मैले गाली गर्न रोक भनेपछि फेरि मसँग भाइको लापरवाहपनको बारेमा कुरा काट्न थाले ।

‘छौ छौ महिन्ना हुँदा पनि ब्लेड हल्का तरिकाले समातेर चलाउन नजान्नु शरमको कुरा हो नि, हैन र हजुर ?’ अवधी मिसिएको नेपाली लवजमा उनले यादवका लागि धेरै समय, स्रोत र अवसर लगानी गरेको कुरा गर्नसमेत भ्याए ।

‘भाइलाइ कति कक्षासम्म स्कुल पढ्न पठायौ त पिताजीको मृत्युपछि तिमी आफूले घर ब्यवहार धानेर ?’

मेरो प्रतिप्रश्न सुनेपछि उनको बोल्ती बन्द भयो । एक छिनपछि भने, ‘कहाँ स्कूल पठाउने हजुर, हामी गरिबको नसीवमा इलिमेन्टरी पछि पढ्ने पढाउने काम कसरी संभव हुन्छ, हजुर नै भन्नुस् न ?’

हाम्रा सम्भावनाको हत्या धेरै जसो समय या त हामी आफैँले गरेका हुन्छौँ या हाम्रा अभिभावकहरूले । घरको मूल मानिस अपठित र लोभी छ भने त्यस्तो घरमा त सदीयौँदेखि सम्भावनाहरूको हत्या श्रृंखलाबद्ध रुपमा भइरहेको देख्न पाइन्छ ।

यादवका पिताले जनकपुर नजिकैको आफू बस्ने एउटा गाउँमा किसानहरूको घर खेतमै पुगी केश र  दाह्री काटिदिने काम गर्दा रहेछन् । तर यादव सानै हुँदा उनले आफ्ना पिताजीलाई गुमाउनु परेको रहेछ ।

शायद साथीभाइहरुको संगतले हुनुपर्छ । यादव भने आफ्ना पिताले गर्ने कामलाई आफ्नो पेशा बनाउन चाहँदैनथे । शुरुमा उनी पटघरको छोरा जगदीश चौधरीले झैँ  पढ्न चाहन्थे ।

तर पिताजीको देहान्तले पढाइ गर्ने र पछि गएर प्रहरी बन्ने चाहनामा रोक लगायो ।

त्यसपछि उनी साथीहरुसँग मध्य एसियाका देशमा मजदूरी गर्नका लागि तयार भए । तर त्यसका लागि नसीब नभएपछि, देहात फर्कन मन लागेन । यादवलाई दाजुसँग शैलूनको काम सिक्नु बाहेक अन्य सजिला विकल्पहरु कम हुँदै गइरहेका थिए । 

तर उनको ध्यान भने केश काट्ने सीप विकास गर्नुपर्छ भन्नेमा थिएन । विदेश नै थियो । शायद उनी सोच्दा हुन् कि विदेशमा काम सजिलो हुन्छ अनि पैसा धेरै ।

मेरो टाउको मालिस गर्दै गर्दा उनी भन्दै थिए, ‘तपाई त विदेशबाट फर्केको जस्तो देखिनु हुन्छ ।’

मलाइ फेरि डा. सन्तोष सापकोटाको भनाइ याद आयो । मानिसले जे चाहेको हुन्छ त्यही देख्छ । मेरा पिताजी स्कुलको हेड मास्टर हुनुहुन्थ्यो । मैले पनि केही समय मास्टरी गरेँ । तर मास्टरीलाई मैले कहिल्यै मेरो लगावको पेशा बनाइन ।

यादवले जस्तै केहीबेर झुण्डिनको लागि मात्र अपनाएँ । तर जब साहस र योग्यताका प्वाँख भरिँदै गए अनि मलाई उड्नबाट कसले रोक्ने ? 

हो, मैले धेरै कुरा सिकेँ । शिक्षण पेशाबाट । तर मैले यादवले जस्तै जीवनभर बाबुले थामेको पेशागत विरासत थाम्ने मन कहिल्यै भएन ।

हामी सबैमा सोँचको स्वतन्त्रता मात्रै होइन, सोचले जन्माएको काम गर्ने स्वतन्त्रता पनि हुनुपर्छ जस्तो लाग्छ । म त्यो मामिलामा पनि लक्कि
बास्टर्ड नै भएँ कि जस्तो लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ