arrow

टेलिकमको भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवामा भारी छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
nepal-telecom_1617944918.png
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गरेको छ । आज मनाइने आईटीयू डे २०२३ (विश्व दूरसञ्चार सूचना दिवस) को अवसरमा आजदेखि लागू हुने गरी नयाँ महसुल दर कायम भएको टेलिकमले जनाएको छ । 

टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् । नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सीम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट रु. ७ मात्र शुल्क लाग्नेछ । 

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । 

हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ । 

त्यसैगरी थाइल्यान्डमा टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ । 

हाल कुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ । 

त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रु. ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ । 

अन्य देशमा जाँदा–रहँदासमेत टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सीम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ