arrow

फ्ल्यासब्याकः यादका तराना

logo
कृष्ण शर्मा,
प्रकाशित २०८० वैशाख २३ शनिबार
krishna-sharma-flashback-yadka-tarana.jpg

मलाई लाग्छ म बुबाको जन्मजात फ्यान थिएँ । बुबाले उपल्लो भान्छामा खाना खाइसकेपछि सधैँजसो केही भात थालमा छोडेर उठ्नुहुन्थ्यो । आमाले उक्त चरेसको थाललाई अर्को स्टीलको थालले ढाकेर भान्छाको सिरानतिर बडो जतनले राख्नुहुन्थ्यो र परिवारका सबैले खाना खाइसकेपछि त्यही थालमा भात, तरकारी, दाल, अचार आदि थपेर बडो मीठो मानेर खानुहुन्थ्यो । 

मेरो त्यतिबेलासम्म ब्रतबन्ध भैसकेको थिएन । बाल मस्तिष्क न होः  मलाई लाग्थ्यो बुबाले चरेसको थालमा छोडेको भात अवश्य पनि अलिक बढी मिठो हुनुपर्छ । मलाई बुबाले छोडेको त्यो भात खाने खुब इच्छा हुन्थ्यो । 

एक पटक हजुरआमालाई उक्त इच्छासमेत जाहेर गरेँ । तर उहाँले भन्नुभयो, ‘कान्छाले तिम्री आमालाई माया गरेर राखिदिएकाले त्यसमा कान्छीको मात्रै हक लाग्छ, बुझ्यौ ।’  

कान्छो छोरो भएकोले हजुरबुबा र हजुरआमाले बुबालाई ‘कान्छा’ र आमालाई ‘कान्छी’ भन्नुहुन्थ्यो। त्यसपछि आमाको चित्त नदुखोस् भनी त्यो भातमाथि मैले कहिल्यै दावा गरिन । तर कहिलेकाहिँ बुबाले दिउँसो खाजा खाएपछि प्लेटमा छोडेका अंगुरका दाना वा काजु, बदाम, मिश्रि इत्यादिका टुक्रा भेटेको खन्डमा चाहिँ छोड्थिन।

 मलाई बुबाले काम गरेको हेर्न र उहाँले मलाई सहयोगी माने हुन्थ्यो भनी उहाँको नजिकै बसी आदेश कुर्न खुब मन पर्थ्यो। दशैँ तिहारजस्ता उत्सवमा भद्र भलादमीहरु जम्मा भइ तास खेल्दाको समयमा म उहाँको किनारमा गइ टुसुक्क बस्थेँ । उहाँले जितेको समयमा एक दुई रुपैयाँ दिनुहुन्थ्यो । अनि म खुशी हुँदै बनियाँको पसलमा गएर मिठाइ किनिहाल्थेँ र हामी भाइबहिनीहरु मिलेर खान्थ्यौँ । 

हारेको समयमा हुक्कामा तमाखु भरेर ल्याउन भन्नुहुन्थ्यो। मैले तमाखु भर्दै गर्दा उहाँले जिते हुन्थ्यो भन्ने कामना गर्थेँ। बिचरो म र मेरो कामना !

म सानै हुँदाको कुरा हो। त्यस वर्षको दशैँ सकिएपछिको आइतबारको दिन थियो । तिहारसम्म विद्यालय बन्द हुने भएकाले त्यो दिन बिहान म ढिलोसम्म बिस्तारामै पल्टिरहेको थिएँ । बहिनीले मैले ओढेको सिरक तान्दै भनिन, ‘बुबाले गोठमा बोलाउनुभएको छ ।’

 फ्यान न थिएँ । म जुरुक्कै उठेँ । बुबा घरको दायाँपट्टि रहेको गाइवस्तु बाँध्ने गोठमा केही काम गर्दै हुनुहुन्थ्यो । मलाई देख्ना साथ भन्नुभयो, ‘बाबु हेर त यो सानो खाँबो यहाँनिर गाडेर बाच्छो बाँध्ने किलो बनाउँ भनेको त खन्ती नै भाँचियो । जाउ खजान्ची काकाकोमा गएर छिट्टो खन्ती लिएर आउ त ।’

के खोझ्छस्... भनेझैँ मैले हस् बुबा’ भनेँ । अनि साइकल टिपेर गाउँको पल्लो किनारमा भएको खजान्ची काकाको घर पुगेँ । त्यो समयमा साइकल चलाउने मौका पाउनु भनेको राजालाई भेट्न पाए जत्तिकै ठूलो अवसर जस्तो लाग्थ्यो ।

‘बाबु, हामीले त आइतबारको दिन कसैलाई केही पनि दिने गरेका छैनौँ । मास्टर दाइलाई दुःख नमान्न भन्नु है।’  बुबा स्कुलको हेड्मास्टर भएकोले गाउँलेहरु सबैले मास्टर दाइ वा मास्टरजी भन्थे ।

मलाई बिना खन्ती रित्तै हात घर फर्केर बुवालाई उक्त कुरा भन्न मन लागेन । एकछिन साइकल डोहोर्याउँदै खजान्ची काकाको घरबाट बाहिर निस्कँदै गर्दा सोचमग्न भएँ । तुरुन्तै उपाय फुर्यो। त्यसपछि साइकल फर्काएँ र पश्चिम सेमरा बजारतिर लागेँ । 

म पुग्दा मोटेकामी आरनमा बसिसकेका रहेछन् । मैले साइकल रोक्दै गर्दा जुरुक्क उभिएर उनले ‘जदौ, बाबु’ भनिसकेका थिए ।

मैले ‘जदौ बाजे’ भन्दै बुबाले पठाको खन्ती छ भने दिनुपर्यो भनेपछि उनी झुपडीभित्र पसे । मैले उनी नभएको मौका पारेर आगोमा हावा फुक्ने उनको मेशिन घुमाउन थालेँ । 

मोटेकामी केहीबेरमा खन्ती लिएर बाहिर आएर मलाई भने, ‘ओहो बाबु, हजुरहरुले हामीले प्रयोग गर्ने कुराहरु छुनु हुँदैन नि ।’

मैले केही भनिन । उनले हातको खन्ती देखाउँदै भने, ‘बुधबारे कुर्मीको लागि भनेर बनाएको रहेछ । तर कसरी पो लानुहुन्छ साइकलमा’ भन्दै साइकल पछाडिको सिटमा बाबियोको डोरीले बलियोसँग बाँधिदिए। 

अब कुर्मीको लागि बनाउन बस्छु भन्दै मलाई ‘विस्तारै साइकल नलडाइकन जानुहोला बाबु’ भनेपछि मैले ‘जदौ बाजे’ भन्दै साइकल चढेर घर फर्केँ । 

गाडाका चक्काले बनाएको साँगुरो बाटोमा बडो सन्तुलित हुँदै साइकल चलाउँदै गर्दा बिहानको मधुरो पहेँलो घामले मेरो निधारमा चुम्मा खाइरहेको थियो । जमीनभरि फैलिएका धानका सुनौला बाला अनि सिरुका हरिया टुप्पा टुप्पामा शानसँग उभिएका शीतका थोपा थोपामा त्यो घाम टल्किरहेको देख्दा यस्तो भान हुन्थ्यो मानौँ खेतभरि हीराका स–साना गुच्छा उम्रिरहेका छन् ।

घर पुगेर मैले खन्ती दिएपछि बुबाले बाँकी काम गर्नुभयो र भाँचिएको खन्ती मलाई दिदै भन्नुभयो, ‘दिउँसो खाना खाएपछि खजान्ची काकालाई धन्यवादसहित उनको खन्ती फिर्ता दिनु अनि मोटेकामीकोमा गएर यसलाई ठीक पारेर ल्याउ है । घरमा यसको आवश्यकता परिरहन्छ ।’

मलाई साइकल चलाउन खुब मन पर्ने हुनाले खाना खाइसकेपछि भाँचिएको खन्ती लिएर फेरि साइकलमा सेमरा पुगेँ ।

बुबा र खजान्ची काका साथी साथी थिए। खजान्ची काका मालपोत कार्यालयका श्रेस्तेदार भएकोले गाउँलेहरुले उहाँलाई ‘खजान्ची साहेब भन्दथे । जसरी बुबा स्कुलको प्रधानाध्यापक भएकोले उहाँलाई मास्टरजी ।

सायद मेरो अन्तर मनलाइ लाग्यो यदि खजान्ची काकाले खन्ती नदिएको कुरा गरेको खण्डमा बुबामा काकाप्रतिको सम्मानमा केही गिरावट आउन सक्छ । त्यसैले मैले हस् मात्रै भनेँ र त्यस बिहानको घटनाबारे विस्तारमा कसैसँग कुरै गरिन । 

दुइ दिनपछि मोटेकामी खन्तीसहित ‘जदौ, मास्टरनी आमा’ भन्दै आए । आमाले नयाँ खन्तीको मूल्य र मर्मत गरेको खन्तीको ज्याला स्वरूप तीन माना चामल दिनुभयो । बारीमा फलेका रामतोरिया, सिमी र गोलभेँडा दिनुभयो । मोटेकामी खुशी मानेर फर्किए । 

त्यसको एक सातापछि बुबाले घर छोडेर हिँड्नु भयो । बुबा हिँडेपछि महसुस भयो छोराको लागि बुबा नहुनु भनेको आकाश खस्नु जस्तै रहेछ । त्यसमाथि सानै उमेरमा बुबाको साथ नपाउनु भनेको हिँड्दै गरेको बाटो फाट्नु जस्तै रहेछ।

बुबा हिँडेपछि पुत्र शोकमा डुबेकी हजुरआमालाई मैले सोध्नै सकिन कसरी त्यति सारो माया गर्ने श्रीमतीलाइ बुबाले छोडेर जान सक्नु भयो भनी ।   

बुबा हिँडेको थाहा पाएपछि अरु जस्तै खजान्ची काका पनि घरमा आएर मेरो नजिकै बसे । अलिक बेरसम्म उनी केही बोल्नै सकेनन् । 

धेरै बेरपछि आमातिर हेरेर भने, ‘मलाई यसरी घर छोडेर हिँड्ने कुनै संकेत दिनुभएन हिरन्यजीले।’

त्यसको केही बेरपछि मलाई हेरेर भने, ‘त्यो दिन खन्ती नदिएर मैले कस्तो नराम्रो गरेँ । मैले माफ माग्न पनि पाइन । कस्तो अफशोस । कस्तो कन्जुससँग संगत गरिएछ भन्नु भएको होला सायद । तर मेमी अर्धाङ्गिनीले आइतबारका दिन कसैलाई घरका जिनिस दिनुहुन्न भनेकीले नदिएको हो । मलाई त यस्ता कुरामा विश्वास लाग्दैन तर...।’

मैले भने, ‘बुबालाई मैले त्यसबारे केही भनेकै थिइन। हजुरको घरबाट हिँडेपछि मैले सेमरा मोटेकामीकोमा गएर खन्ती ल्याइ बुबालाई दिएको थिएँ ।’


‘ओहो, कस्तो बुझक्की काम गरेछौ तिमीले’ भन्दै ती काकाले मेरो पिठ्यौमा धाप मारे । खजान्ची काकाले त्यसपछि मलाई सधैँ आफ्नो छोरालाई जस्तै माया गर्न थाले । 

 त्यसैले पनि मलाई के लाग्छ भनेँ जस्तोसुकै भए पनि गाउँ भनेको माया हो ।

त्यसपछि छोटो समयकै लागि किन नहोस् अक्सर गाउँ छोड्दा म अन्माइन लागेकी चेली जस्तै रुन्चे भैरहेको हुन्थेँ ।

घर परिवारका सदस्यसँग मात्र होइन गाउँका काका, साथीभाइहरुसँग विछोडिनु पर्दाको क्षणले मलाई अत्यन्त ब्याकुल बनाउँथ्यो । 

बालापन न हो, गन्तब्यमा पुगेपछि फेरि म त्यतैका साथीहरुसँग रम्थेँ । ठाउँ विशेषको कुरा गर्दा गाउँ र तानसेनको सम्झनाले अहिले पनि मेरो मनलाई एक तमासको बनाइदिन्छ । 
काठमाडौँलाई मैले किन किन कहिल्यै ‘मिस’ गरेको महसुस गर्न सकिन । तर छिमेकी र साथीहरु भने जहाँतहिँकालाई उत्तिकै मिस गर्छु । 

आखिर कसैलाई मिस गरेको महसुस गरेर केही हुने त होइन तर पनि किन किन कोही छिमेकी अनि कोही साथीहरु हृदयको तहमा यसरी डेरा जमाएर बस्छन् कि काठमाडौँका घरबेटीहरुले जस्तै निर्दयी भएर ‘जाउ अब हृदयको कोठा खाली गर्नुपर्यो’ भन्न सक्दिन । 

सौदाकै लागि जोडिएका साथीहरु अनि पछि मित्रतालाई सौदामा परिणत गरेका साथीहरुलाईसमेत मैले किन मिस गरेको हुँला भन्ने कुराले आजकल मलाई गम खुवाउँछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ