arrow

परम्परागत बैंकिङदेखि डिजिटल युगसम्मको यात्रामा राष्ट्रिय वाणिज्य बैंक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
rastriya-banijya-bank-2079.jpg

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक भए पनि यसले निजी बैंकहरुसँगसमेत प्रतिस्पर्धा गरिरहेको छ । बैंकका सीईओ किरणकुमार श्रेष्ठका अनुसार  सरकारी स्वामित्वको बैंक भए तापनि वाणिज्य बैंकको नाता भएकाले जे जति बैंकिङ सुविधाहरु दिनुपर्छ ती सबै सुविधाहरु दिएर बैंकिङ बजारमा प्रतिस्पर्धा गरिरहेको छ । 

प्रतिस्पर्धा त छ नै यसले सरकारी स्वामित्व भएको नाताले गर्नुपर्ने जिम्मेवारी उत्तिकै बहन गरेको छ । सरकारको नीति तथा कार्यक्रम र प्राथमिकतालाई पनि गाउँ, दूरदराजमा पनि लैजानु पर्ने दायित्वमा वाणिज्य बैंक अगाडि छ । सीईओ श्रेष्ठ भन्छन्, ‘एउटा चाहिँ निजी क्षेत्रको बैंकहरुसँग बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्यो । अर्को जुन हाम्रो सरकारी बैंकको नाताले गर्नुपर्ने राष्ट्रिय खालका दायित्वहरु छन् तिनीहरुलार्ए पनि पूरा गर्नुपर्नेहुन्छ । त्यसैले प्रतिस्पर्धामा दोहोरो कामले गर्दा निकै नै मेहनत गर्नुपर्ने हुन्छ ।’ 

जनतालाई बैंकिङ प्रणालीमा बैंकहरूले जोड्दै लगेका छन् र त्यसबाट धेरैले पाएको सुविधा हेर्दा बैंकिङ क्षेत्रले राम्रो काम गरिरहेको प्रष्ट हुन्छ । अहिले जसरी बैंकहरू जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छन् त्यसको श्रेय राष्ट्रिय वाणिज्य बैंकलाई जान्छ । स्थापनाकालदेखि व्यापार(व्यवसायमा केन्द्रित र जनतालाई सेवा सुविधा दिँदै धेरै आरोह(अवरोह खपेर आफ्नो गौरवपूर्ण यात्रा गरिरहेको राष्ट्रिय वाणिज्य बैंक देशको ७ वटै प्रदेशमा प्रादेशिक कार्यालयहरू स्थापना गरी ७७ जिल्लाका सदरमुकाममा रहेका करिब २६४ शाखाहरूमार्फत करिब ४० लाख बढीलाई सेवा दिइरहेको छ । सीईओ श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकका ३८ लाख ५० हजार निक्षेपका ग्राहक रहेका छन् । कर्जाकार ग्राहक एक लाख ८० हजार रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले परम्परागत बैंकिङ देखि शुरु गरेको यात्रा समयानुसार आफूलाई परिमार्जित गर्दै डिजिटल बैंकिङसम्म आउँदा धेरै उतारचढाव देखिसकेको छ । त्यही यात्राका क्रममा भोगेका अनुभवहरूले बैंकलाई अझ सुदृढ र मजबुत बनाएको छ । समयानुसार परिवर्तन हुँदै अघि बढेको बैंकले ग्राहकहरूको भावना अनुसार नवीन प्रविधिहरूसँग आफूलाई जोड्दै लगेको छ । 

विशाल सञ्जालहरूमार्फत समानुभूतिपूर्ण मानव संशाधनहरूको प्रयोग तथा नवीन वित्तीय सेवाहरू प्रदान गर्दै न्यूनतम पूँजी आवश्यकता पूरा गर्न, बैंकको पूँजी आधार, व्यापार तथा बजार वृद्धि गर्न, नाफामा दिगो वृद्धि तथा विपन्न वर्गको सशक्तीकरण  गर्दै दक्षता अभिवृद्धि तथा परिचालनतर्फ ध्यान केन्द्रित गर्दै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस बैंकमा नेपाल सरकारको ९९.९७ तथा सर्वसाधारणको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यस बैंकले पूँजी निर्माणको साथै देशमा उत्पादन र रोजगारीको सिर्जना गर्न उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । बैंकले सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय तथा नेपाल सरकारप्रति निरन्तर सहयोग र विश्वास दिलाएका कारण नै आज यो देशकै अग्रणी एवं विश्वसनीय बैंक बन्न सफल भएको भन्दा कुनै विमति नहोला ।

ग्राहकको बदलिँदो चाहनालाई अनुभूत गर्दै बैंकिङ क्षेत्रमा देखिएको प्रतिस्पर्धालाई सूचना प्रविधिको विकास तथा बैंकिङ व्यवसाय सम्बन्धी नयाँ आयामहरू दृष्टिगत गरी भविष्यमा गर्नुपर्ने कार्यहरूलाई प्राथमिकतापूर्वक अगाडि बढाउने योजनामा राखेको यस बैंक तरलताको अभावले सिर्जना भएका समस्याहरू न्यूनीकरण गर्न तत्पर रहेको  छ । 

यसै क्रममा “निक्षेप वृद्धि तथा परिचालन रणनीतिक योजना” बनाई चालू आर्थिक वर्षको अन्त्य सम्ममा बैंकले कुल निक्षेप रु।३ खर्ब पुर्‍याउने लक्ष्य धारण गरेको छ भने निक्षेपको उचित परिचालन तथा कर्जा निक्षेप अनुपातको सन्तुलनलाई मध्यनजर गरी व्यवसाय विस्तारमा विशेष जोड दिन, कर्जा प्रवाह प्रक्रियालाई छिटो छरितो र सरल बनाउन लोन ओरिन्टेसन र एप्रुभल अटोमेसन सिस्टम लागू गर्दै देशका ७ प्रदेश एवं ७७ वटै जिल्ला तथा जिल्ला सदरमुकाममा आफ्नो शाखागत उपस्थितिलाई बलियो बनाउन नयाँ रणनीतिक योजना पनि अघि सारेको छ  ।

व्यवसायिक सम्भावना बोकेका स्थानहरूको पहिचान गरी थप शाखाहरू विस्तार गर्न तत्पर रहेको यस बैंकले शाखा सङ्ख्या ३०० पुर्याउने तथा बैंकिङ क्षेत्रमा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यकता अनुसार नयाँ सेवा बिस्तार गर्दै डिजिटल बैंकिङ सम्बन्धी सेवाहरूको विस्तार गरेर ओम्नी च्यानल बैंकिङ सिस्टम जस्ता प्रणालीलाई कार्यान्वयनमा ल्याई डिजिटल बैंकिङ सेवाहरूको गुणस्तरीयतामा वृद्धि गर्दै गुणस्तरीय ग्राहक सेवा प्रदान गर्न अग्रसर रहेको मान्न सकिन्छ ।

बैंकका सम्पूर्ण म्यानुअल, कार्यविधि, नीतिहरूलाई समय सापेक्ष बनाउन आवश्यकता अनुसार पुनरावलोकन तथा पुनर्लेखन गर्ने, बैंकका सम्पूर्ण प्रक्रियाहरू, कार्यविधि एवं पद्धतिहरूलाई सुधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन तथा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न ‘बिजनेस प्रोसेस रिइन्जिनियरिङ’ को कार्यलाई अगाडि बढाउँदै बैंकको सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष तथा सुदृढ बनाउने योजना बमोजिम आईटी इन्ह्यान्समेन्ट रोडम्यापलाई निरन्तरता दिने आशय आफ्नो १७ औै वार्षिक प्रतिवेदन मार्फत जनाइसकेको छ । 

बैंकका सम्पूर्ण अचल सम्पत्तिहरूको तर्जुमा गर्न तथा उचित व्यवस्थापनका लागि ‘एसेट्स युटिलाइजेसन प्लान’ चालु गर्ने गुरु योजना अघि सार्दै बैंकका अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि ‘कस्ट कन्ट्रोल प्रोजेक्टलाई पनि कार्यान्वयनमा ल्याएको देख्न सकिन्छ । यसका साथै लामो समयदेखि बाँकी रहेका तथा नेपाल राष्ट्र बैंक तथा बाह्य लेखा परीक्षणको क्रममा औँल्याएका हिसाब मिलान हुन नसकेको हिसाबहरू मिलान गर्न ‘रिकन्सिलिएसन प्रोजेक्ट’ लाई अघि बढाउँदै नेपाल सरकार तथा नियामक निकायहरूबाट ल्याइएका सम्पूर्ण कार्यक्रमहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने उद्देश्य बोकेको पनि प्रष्ट हुनजान्छ । 

राष्ट्रिय प्राथमिकता प्राप्त तथा नेपाल राष्ट्र बैंकमार्फत निर्देशित प्राथमिक क्षेत्रहरूमा कर्जा लगानी, सरकारको नीति तथा कार्यक्रममा तथा युवा, महिला, दलित तथा पिछडिएका वर्गका व्यक्तिहरूमा उद्यमशीलता विकास गराउन विभिन्न स्थानीय तह, सरकारी निकाय तथा गैह्र सरकारी निकायहरूसँग सहकार्य गर्दै उल्लेखित सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिँदै आएको छ । 

बैंकको निष्कृय कर्जा र गैर बैंकिङ सम्पत्तिहरू उचित व्यवस्थापन गर्नतर्फ पनि झुकाव राख्दै थापाथली, पोखरा, महेन्द्रनगर, कोहलपुर र लहानमा बनिरहेका बैंकका भवनहरूको निर्माण पूरा गर्ने तथा धुलिखेल, पाल्पा, हनुमाननगर, फिक्कल तथा मान्ममा नयाँ भवन निर्माण को कार्यलाई अगाडि बढाउने योजना रहेको बैंकले बताएको छ । 

बैंकले प्रदान गर्ने सेवा सुविधाहरूको प्रभावकारी बजारीकरण तथा ‘रिब्रान्डिङ’ मा जोड दिँदै ‘क्यापिटल इन्ह्यान्समेन्ट प्लान’ २०७८ मार्फत बैंकको पूँजी वृद्धिको कार्यलाई निरन्तरता तथा वैदेशिक मुद्रामा ऋण प्राप्त गर्ने तथा बैंकको ऋणपत्र जारी गर्ने कार्य, कस्टमर कल सेन्टर विस्तार तथा बैंकको छ वर्षे रणनीतिक योजनामार्फत बैंकको पूँजी आधार तथा स्रोत अभिवृद्धि गर्न रु २ अर्ब ५० करोड बराबरको डिबेन्चर जारी गर्ने तथा रु १ अर्ब २० करोड बराबरको आरबीबी म्युचुअल फण्ड जारी गर्ने गुरुयोजनामार्फत बैंकको रणनीतिक योजना रहेको छ । 

आवश्यकता अनुसार कर्मचारी पदपूर्ति गर्ने तथा कार्यरत कर्मचारीहरूमा सीप, उत्पादकत्व तथा पेसागत दक्षता अभिवृद्धि गर्न विभिन्न तालिम तथा सिकाइका कार्यक्रमहरूमा निरन्तरता दिँदै आएको छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई प्रभावकारी बनाउन वैज्ञानिक कार्यसम्पादन व्यवस्थापन प्रणाली ‘साइन्टिफिक पर्फर्मेन्स म्यानेजमेन्ट सिष्टम’ लागू गर्ने, बैंकमा विद्यमान विविध प्रकारका जोखिमलाई न्यूनीकरण गर्न जोखिम व्यवस्थापन कार्यलाई थप परिष्कृत तथा प्रभावकारी बनाउँदै लैजानुका साथ एएमएल–सीएफटी सम्बन्धी निर्देशनहरूको प्रभावकारी पालना गर्दै आएको छ । गैह्रकोषमा आधारित व्यवसायलाई थप विस्तार गर्दै शुल्क तथा कमिसन आम्दानीलाई वृद्धि गर्न जोड दिने, बैंकको आन्तरिक लेखापरीक्षण, बाह्य लेखापरीक्षण तथा नेपाल राष्ट्र बैंकले निरीक्षणको क्रममा औँल्याएका कैफियतहरूको सुधार गर्ने तथा संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन अरू कार्य विधि सञ्चालनमा ल्याउने जस्ता लक्ष्य बोकेको छ ।

‘सबैका लागि सबैभन्दा भरपर्दो, सधैँ राष्ट्रको समृद्धिमा योगदान पुर्याउने’ मूलमन्त्र बोकेर वित्तीय पहुँचमा रहेका अवरोधहरू हटाउँदै नेपालीहरूको जीवनस्तर उकास्ने प्रयास गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले सुरक्षित, नवीन र किफायती वित्तीय सेवाहरूको सुनिश्चितता गर्दै सामाजिक रूपमा जिम्मेवार बन्ने ध्येय बोकेको बुझ्न सकिन्छ । 

यस बैंकले विविध वित्तीय सेवाहरू प्रदान गर्न अग्रणी रणनीति बोकेर नेपाली समुदाय केन्द्रित व्यापार प्रक्रियामा प्रभावकारिता तथा स्रोतहरूको मूल्याङ्कन तथा कार्य सम्पादनमा उत्तरदायित्व, जिम्मेवारी तथा दक्ष भूमिका खेल्दै सम्मान, इमानदारी, निष्ठा र विश्वसनीयता कमाउँदै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले नेपाल टेलिकमसँगको सहकार्यमा नमस्ते पेको स्थापना भएसँगै आरबीबी डिजिटल वालेटको शुरुआत गर्दै डिजिटल युगतर्फ अग्रसर भएको देख्न सकिन्छ । धेरै लामो समयदेखि बाँकी रहेका हिसाब मिलानको कार्य प्रभावकारी ढंगले सम्पन्न गर्न ‘कम्प्रिहेन्सिभ रिकन्सिलिएसन सिष्टम’ को कार्य योजना अगाडि बढाउँदै कर्मचारी सेवा विनियामावली, कृषिकर्जा म्यानुअल, बजेट म्यानुअल, एएमएल–सीएफटी पोलिसी एन्ड प्रोसिडुअर’, आन्तरिक लेखापरीक्षा म्यानुअलमा पुनरावलोकन, संशोधन तथा पुनर्लेखनको कार्य सम्पन्न गरेको भेट्न सकिन्छ । 

महत्त्वपूर्ण कागजातहरू भावी प्रयोजनका लागि सुरक्षित रूपमा राख्न डकुमेन्ट म्यानेजमेन्ट सिष्टमलाई कार्यान्वयनमा ल्याउँदै सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूको बदलिँदो मागलाई सम्बोधन गर्न ‘रिकरिङ फिक्स्ड डिपोजिट, फुल डबल डिपोजिट, फरेन करेन्सी टीआर लोन’ जस्ता सेवा उपलब्ध गराउँदै आएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको भैरहवा तथा थापाथलीको भवन निर्माण कार्य सम्पन्न भएको छ भने नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा ग्राहकहरूलाई ३.१२ अर्ब कर्जा प्रवाह गरेको जानकारी १७ औँ वार्षिक प्रतिवेदनमा प्रस्तुत भएको छ । 

विगत लामो अवधिदेखि रोकिएको नयाँ कर्मचारी भर्ना प्रक्रिया नियमित भई विभिन्न तहमा ८३६ नयाँ कर्मचारी भर्नाको कार्य अन्तिम चरणमा पुगेको छ । अधिकांशको भर्ना भइसकेको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षा कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षा दस्तुर भुक्तानी गर्ने बैंकको रूपमा सम्मानित हुँदै बैंकका अचल सम्पत्तिको पुनर्मूल्याङ्कन कार्य सम्पन्न गर्दै नेपाल राष्ट्र बैंकको ‘सुपरभिजरी इन्फरमेसन सिष्टम’ लाई थप प्रभावकारी बनाइएको तथा नेपाल पुनर्विमा कम्पनी, नेपाल वायुसेवा निगम, नेपाली सेना, राष्ट्रिय परीक्षा बोर्ड, नागरिक उड्डयन प्राधिकरण  जस्ता विभिन्न सरकारी संस्थाहरूसँग पेसाकर्मी सरल कर्जा उपलब्ध गराउने सम्झौता गरिएको, शाखा विस्तार योजना अन्तर्गत ६ वटा थप शाखा सञ्चालनमा ल्याएको तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरियो र साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक परियोजनाहरूमा रु। २.६२ करोड बराबरको खर्च गरेको बैंकले जनाएको छ ।

भोलिको योजनाबारे सीईओ श्रेष्ठ सगौरव भन्छन्, ‘हाम्रो एउटा भनाइ पनि छ हामी सरकारी बैंक भएको हुनाले सरकारी स्वामित्वको हामी गर्व गर्छौं । र हामी के गर्छौं भन्दाखेरी सरकारी बैंक भएता पनि सबै बैंकहरुसँग स्वस्थ्य प्रतिस्पर्धा गर्न तयार छौं भनेर हामी अगाडि बढेको स्थिति हो । त्यसरी नै हामी प्रतिस्पर्धा गरिरहेका छौं । त्यसो भएर भोलिको दिनमा पनि हामीले हाम्रो बिजनेशलाई बढाउने कुराहरु, बैंकलाई अझै सुदृढीकरण गर्ने कुराहरु, अझै यसको नेटवर्कहरु बढाउने कुराहरु, कर्मचारीको क्षमता वृद्धि गर्ने कुराहरु र टेक्नोलोजीमा परिवर्तन गरेर यसको कष्टमर सर्भिसको क्वालिटीलाई अभिवृद्धि गर्ने योजना र हामी प्रतिस्पर्धामा जाने भन्ने हाम्रो योजना हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ