arrow

कति सहज छ रामचन्द्र पौडेललाई चुनाव जित्न ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
poudel-ramchandra.jpg
फाइल तस्वीर

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत निर्वाचनमा भएको हारको बदला लिने गरी अघि बढेका छन् । उनी तनहुँ क्षेत्र नं. १ मै फेरि प्रतिस्पर्धा गर्दैछन् ।

उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका नेता एकबहादुर रानासँग हुनेछ । पौडेललाई कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको चुनौती पनि कम छैन । पौडेलले जोशीकै कारण आफूले २०७४ को निर्वाचनमा पराजय बेहोर्नुपरेको बताउँदै आएका छन् ।

अघिल्लो निर्वाचनमा पौडेल वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ किसानले पराजित भएका थिए । पौडेललाई श्रेष्ठलले ६ हजार ४१४ मतान्तरले पराजित गरेका थिए ।

विजयी श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६७५ मतमात्र पाए । यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पौडेल र किसान श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला पौडेल करिब ४५ सय मतले विजयी भएका थिए ।

यो पटक पौडेलसँग एमालेका रानासहित अन्य १३ जनाले प्रतिस्पर्धा गर्दैछन् । पौडेललाई सत्तारुढ गठबन्धनको समर्थन छ । साथै यो क्षेत्रमा समाजवादी पार्टीका पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीका प्रविण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल चुनावी मैदानमा छन् ।

स्वतन्त्रतर्फ कांग्रेसका पूर्वसहमहामन्त्री  गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी मैदानमा छन् । 

न्याय, निष्ठा, लोकतन्त्र रक्षा र समग्र तनहुँको विकासका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलले बताएका छन् । नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल वरिष्ठ नेता पौडेललाई ‘हेभिवेट’ नेता भएको र सत्तारुढ गठबन्धनको साथ रहेकाले चुनाव जित्न सहज हुने बताउछन् । ‘स्थानीय तहको चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले पाएको मत चुनाव जित्नका लागि पर्याप्त छ, हाम्रो मुख्य प्रतिस्पर्धा भनेको नेकपा एमालेसँग हो’, खनाल भन्छन् । 

खनालका अनुसार वरिष्ठ नेता पौडेल दिन रात नभनि घरदैलोमा सक्रिय छन् । यस पटक सबै मतदाता भेट्ने गरि पौडेल अघि बढेका छन् । नेता पौडेलले विकासले ग्रामिण क्षेत्रको मुहार फेर्ने बताउँदै आएका छन् । साथै रोजगारी सृजना गरेर गाउँका मानिसलाई गाउँमै रोक्ने उनको चाहना छ । 

एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेल कांग्रेसका दुई नेताहरुको प्रतिस्पर्धाले एमाले उम्मेदवारलाई फाइदा हुने दावी गरे ।

यसैगरी तनहुँ क्षेत्र नं. १ प्रदेश (क) तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ, नेकपा एमालेका रामबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीका चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनका भिमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी) का विद्यानाथ ढकाल, राप्रपाका विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका भुवनसिं थापा, स्वतन्त्र हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् । 

तनहुँ क्षेत्र नं १ प्रदेश (ख) तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) का पूर्णबहादुर गुरुङ, जनता समाजवादी पार्टी नेपालका किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनका रनबहादुर खवास, राप्रपाका राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीका खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । 

तनहुँ क्षेत्र नं १ अन्तर्गत पाँच वटा पालिका पर्दछ । व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका यो क्षेत्रमा पर्छन् । यसमध्ये नेपाली कांग्रेसले व्यास, भानु र देवघाट गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा (एमाले) ले बन्दीपुर तथा नेकपा (माओवादी) केन्द्रले आँबुखैरेनीमा विजय हासिल गरेको छ । 

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार ४९० मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा ६७ हजार १४४ र प्रदेश सभा (ख) मा ५६ हजार ३४६ मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ