arrow

कांग्रेससँग कुरा मिलाउन रविले कसलाई पठाएका थिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
ravi-lamichhane-80-12-06.jpg
तस्बिर – फाइल ।

काठमाडौंँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले दोहोरो चरित्र देखाएको पाइएको छ । उनले एकातिर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दुस्मन पार्टीको रुपमा हेर्ने र अर्कातिर आफू सहकारी प्रकरणमा मुछिएपछि आफ्नो कम क्षति गराउनका लागि कांग्रेससँगै कुरा मिलाउन आफ्ना दूत पठाएको पाइएको हो । 

कांग्रेसले अढाई महिनादेखि उनीमाथि सहकारी प्रकरणमा छानबिन गरी लाखौँ सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । 

तर आइतबारको संसदको बैठकमा सम्बोधन गर्ने क्रममा लामिछानेले कांग्रेसमाथि रीस फेरेर कथित तथ्यहरु पेश गरेका छन् । 

रवि लामिछानेले बोलेपछि त्यसको प्रतिक्रिया स्वरुप पत्रकार सम्मेलनमार्फत कांग्रेससँग आफ्ना दूतहरु पठाएर नरम बनिदिन रविले आग्रह गरेको कुराको महामन्त्री गगनकुमार थापाले संकेत गरेका थिए । 

हाम्राकुराले यसको खोजीनीति गर्ने क्रममा रविले रास्वपाका नेता श्रीराम न्यौपानेलाई प्रयोग गरिएको पाइएको छ । जिम्मेवारी पाएपछि न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ गएर  छलफल गरेका थिए । 

को हुन् श्रीराम न्यौपाने ? 
उनी रास्वपाका नेता हुन् । कुनै समय उनले नेपाली कांग्रेसको राजनीति नै गर्दथे । नेविसंघको पृष्ठभूमिबाट आएका उनी पछिल्लो समय रास्वपामा गएका हुन् । 

श्रीराम तिनै नेता हुन् जसले स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट रास्वपामा लैजान मद्धत गर्दै सांसदको चुनावमा मोर्चा सम्हालेका थिए । 

अर्थात उनैले स्वणिमलाई तनहुँ २ को उपनिर्वाचनमा लगेका थिए । र कांग्रेसको राजनीतिबाट छुट्टिएर रास्वपाबाट स्वर्णिमले चुनाव लडेर सांसद नै भए । 

श्रीराम पेशाले इन्जिनियर हुन् । उनले जलविद्युत क्षेत्रमा काम गर्दै आएका छन् । श्रीरामले नागढुङ्गामा निर्माणाधीन सुरुङमा जापानी कम्पनीसँग मिलेर काम गरिरहेका छन् । 

पछिल्लो समय उनै न्यौपानेलाई प्रयोग गरेर रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेससँगको गतिरोध कम गर्न प्रयोग गरेका छन् । 

रविको इच्छानुसार दूत बनेर श्रीरामको टिमले कांग्रेस सभापति देउवासँग उनकै निवास बुढानीलकण्ठमा पुगि भेटेको थियो । श्रीरामले देउवासँग डेमोक्रेटिक एलायन्स बनाउन जोड दिएको बुढानिलकण्ठ स्रोतले बतायो । 

श्रीरामले देउवासँग आफ्नो पार्टीलाई कम्युनिष्ट वा एमालेको कित्तामा नपुर्याउन आग्रहसमेत गरेका थिए । श्रीरामले देउवालाई भोलि तपाई नै डेमोक्रेटिक एलायन्सको प्रधानमन्त्री हो भनेर फकाउने प्रयास गरेका थिए । 

पहिले नेविसंघमै काम गरेका र हालका राष्ट्रपति रामचन्द्र पौडेलसँग निकट रहेका श्रीराम त्यही हैसियतमा देउवासँग कुरा गर्न पुगेका थिए । 

रास्वपाका नेता न्यौपानेले कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसँग भेटेर डा शेखर कोइरालालाई सन्देश पुर्याउन आग्रह गरेका थिए । 

पाण्डेसँग श्रीरामको लामो समयको चिनजान र संगत रहेको पनि बुझिएको छ । रास्वपाको हाइड्रो पोलिसीमा छलफल गर्ने क्रममा विचार राख्न कांग्रेसबाट पाण्डेलाईसमेत बोलाइएको थियो । 

संसदमा रवि लामिछानेले आफूलाई मिडिया मिलाउन नआउने र नसक्ने बताइरहे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई भने मिलाएर लैजान चलखेल गरेका हुन् । उनै रविले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको नमानेपछि रिसमा आफू विरुद्ध अभियान नै छेडेको आरोप लगाएका छन् । 

लामोसमयदेखि कांग्रेसले रवि लामिछानेले गरेको सहकारी ठगी प्रकरणसँगै समग्र सहकारीहरुको ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ । 

रवि भने सहकारीहरुको छानबिन गर्ने तर व्यक्तिगत रुपमा आफ्नो छानबिन नगराउन कसरी सकिन्छ भनेर कांग्रेससँग नजिक हुन खोजिरहेको पनि कांग्रेसले यसलाई महत्व दिएको छैन । 

तर आफैँले कांग्रेसलाई भरपूर गाली गर्ने अनि भित्रभित्र कांग्रेससँग सहकार्य गर्न खोज्ने रविको चतुर्याइँले कांग्रेसभित्रै खेल्न खोजेको स्पष्टै हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ