arrow

सिसडोल र बन्चरेडाँडाका स्थानीयलाई अवरोध हटाएर संवादमा आउन गगन थापाको आग्रह, भन्छन् –हामी यस पटक तपाईलाई निराश बनाउने छैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
gagan-thapa-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले सामाजिक संजालमा अवरोध गरिरहेका स्थानीइलाई सम्बोधन गर्दै अवरोध हटाएर संवादमा बसेर समाधान निकाल्न पनि अपील गरेका छन् । 

उनले काठमाडौं फोहरले अस्तव्यस्त भएको र यही अवस्था रहे महामारी फैलनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै स्थानीयलाई अवरोध नगरी संवादमा बस्न आग्रह गर्दै समीक्षा गरी समाधान निकाल्न जोड दिएका छन् । 

उनले लेखेका छन्, ‘काठमाडौंं फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु – कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।’

उनले महानगरपालिकाका मेयर लागिरहेको र पहिलेजस्तो सम्झौता कार्यान्यन नभएको अवस्था यसपालि नहुने आश्वासन दिँदै उनले अगाडि लेखेका छन्, ‘निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ–हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? केही सम्झौता कामनपाले गरेको छ। महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौँ ।’

त्यसैगरी नेता थापाले प्रधानमन्त्रीदेखि सिंगो संघीय सरकारलेसमेत सम्झौता पूरा गर्ने विश्वास गर्दै लेखेका छन्, ‘कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषय छन् । सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा शहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो । प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै शहरी विकास मन्त्री उपत्यका बाहिर रहनु भएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ ।’

महामन्त्री थापााले यसपटक सिसडोल र बन्चरेडाँडाबासीलाई निराश नबनाउने प्रतिवद्धता व्यक्त गर्दै लेखेका छन्, ‘हामी यस पटक तपाईलाई निराश बनाउने छैनौँ । नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आव्हान गर्न चाहन्छु –पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ –अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्। सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ