arrow

ऋषभ पन्तले तोडे धोनीको रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
rishav-pant-test-record-2022.jpg

काठमाडौं । भारत र इङ्गल्याण्डबीचको पाँचौं तथा अन्तिम टेष्ट क्रिकेट बर्मिङघममा शुक्रबारदेखि जारी रहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरिरहेको भारतले पहिलो दिनको समाप्तिसम्म ७ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । 

कुनै समय ९८ रन जोड्दा ५ विकेट गुमाइसकेको भारतका लागि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र अलराउन्डर रविन्द्र जडेजाले सम्मानजनक योगफलतर्फ पुर्याएका हुन् । 

दुवैले छैटौं विकेटका लागि २२२ रनको साझेदारी गरे । यो इङ्गल्याण्डविरुद्ध छैटौं विकेटका लागि भएको सबैभन्दा बढी रनको साझेदारी हो । यसअघि यो रेकर्ड पन्त र लोकेश राहुलको नाममा थियो । सन् २०१८ मा इङ्गल्याण्डविरुद्ध ओभलमा उनीहरुले २०४ रनको साझेदारी गरेका थिए । 

शुक्रबार पन्तले १११ बलमा १४६ रन बनाए । पन्तले मात्र ८९ बलमा शतक बनाएका थिए । सो क्रममा ४ छक्का र १९ चौका प्रहार गरेका थिए । पन्तले थप रेकर्ड पनि बनाएका थिए । उनले महेन्द्र सिंह धोनीले १७ वर्षअघि राखेको कीर्तिमान तोडेका छन् । 

उनले विकेटकिपरका तर्फबाट अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा शतक बनाउने कीर्तिमान तोडेका हुन् । ५१ बलमै अर्धशतक पूरा गरेका पन्तले ८९ बलमा शतक बनाए । उनले करियरको पाँचौं शतक पनि बनाएका छन् । रोचक त के भने ऋषभले अहिलेसम्म जति पनि शतक बनाए ती सबै कुनै टेष्ट श्रृंखलाको अन्तिम खेलमा बनाएका हुन् । यसबाट उनी दबाबमा पनि राम्रो खेल्न सक्छन् भन्ने हो । 

सन् २००५ मा धोनीले ९३ बलमा पाकिस्तानविरुद्ध शतक बनाएका थिए । अहिले पन्तले ४ बल अगाडि नै शतक बनाए । 

पन्तले यदि ८५ बलमा शतक बनाएको भए सबै भारतीयलाई पछाडि छाड्ने थिए । यो रेकर्ड कपिल देवको नाममा छ । उनले ८६ बलमा शतक बनाएका थिए । त्यस्तै मोहम्मद अजहरुद्धिनले ८७ बलमा शतक बनाएका थिए । 

त्यस्तै जडेजाले १६३ बलमा ८३ रन बनाएर खेलिरहेका छन् । पहिलो दिन ७३ ओभरमात्र सम्भव भएको थियो । शनिबार जडेजालाई मोहम्मद शामीले शून्य रनबाट साथ दिनेछन् । 

१० महिनाअघि नै चार खेल भइसकेको छ । तर कोरोना महामारीबीच खेल रोकिएको थियो । यसअघि नै २–१ ले अग्रता लिएको भारतले यो खेल जिते वा बराबरी गरे श्रृंखला जित्नेछ । 

यो श्रृंखला जिते भारतले इङ्गल्याण्डको भूमिमा १५ वर्षपछि श्रृंखला जितको रेकर्ड राख्नेछ । त्यस्तै बर्मिङघममा अहिलेसम्म भारतले जित निकाल्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ