मकवानपुरको मनहरीमा गठबन्धन : अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
634
Shares
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधवार अबेर सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी भएका हुन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहेका नेकपा(एमाले) का उम्मेदवार एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। कालाखेतीले नौ हजार ३१६ मत प्राप्त गर्दा उप्रेतीले चार हजार ९७० मत प्राप्त गरे ।
त्यस्तै नेकपा (एमाले) की उम्मेदवार सुजिता थिङलाई एक हजार १६ मतान्तरले पराजित गर्दै नेकपा (माओवादी केन्द्र) की पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भएका छन् ।
अघिल्लो निर्वाचनमा चार वटा वडामा प्यानलसहित पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले यो निर्वाचनमा मनहरीमा जम्मा चार जना सदस्य मात्रै जित्न सफल भएको छ ।