नुवाकोटे कांग्रेस जीवनसहित ६५ जना माओवादी केन्द्रमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
886
Shares
काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता जीवन आलेमगरको नेतृत्वमा ६५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्वागत गरे ।
उक्त कार्यक्रमलाई संबोधन गर्दै महराले माओवादी केन्द्रप्रति आकर्षण बढेको र विभिन्न पार्टी र विभिन्न पार्टीबाट विद्रोह गरेर माओवादी केन्द्रमा समाहित हुने क्रम बढेको बताए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य नागेन्द्र राईको नेतृत्वमा सो पार्टीका तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशका २५ जना प्रदेश सदस्यसहित पाँचसय जना माओवादी केन्द्रमा समाहित भएका छन् ।
त्यस्तै जितबहादुर चौधरी अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी माओवादी केन्द्रमा समाहित भएको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अनिल परियारको नेतृत्वमा ७०० जना, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामविनोद चौधरीको नेतृत्वमा २५ जना र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट नेपाली कांग्रेस र नेकपा एमालेका २५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।