कांग्रेस बैठक बस्दै, चुनावमा गठबन्धनबारे छलफल, सानेपामा विरोध नहुने
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
633
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।
बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।
अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।
गठबन्धन विना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू डा शेखर कोइराला पक्षीय हुन् ।
सानेपामा आज प्रदर्शन नहुने
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमति विना नै मनोनयन गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।
गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।
‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहररूको भेला भोलि बोलाइएको छ, सोही भेलाबाट विरोध जनाउने छौँ’ रानाले भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ ।
गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।